Logo

सोमवार, श्रावण २५ गते २०८३

images

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

रुद्र बहादुर थिङ

१०, मंसिर २०८०
इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान
images

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आज अष्ट्रिया प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा यही मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबरा र प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीसमेत त्यसतर्फ प्रस्थान गरेका छन् । ​

इन्टरपोलको १००औं वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुने भएका हुन् ।​

इन्टरपोलका सबै एक सय ९५ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयमा मतदानद्वारा निर्णय गरिने प्रावधानअनुसार नेपालले पनि उक्त मतदानमा भाग लिनेछ । साथै प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्ष–महासचिवबीच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रमसमेत रहेको छ ।

यसैगरी इन्टरपोलको ग्लोबल आउटरिच र क्षेत्रीय समर्थन (जिओआरएस) का प्रतिनिधि तथा मित्रराष्ट्र भारत, चीन र यूएईका प्रतिनिधिसँग समेत विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक कुँवरसहितको टोलीलाई आज बिहान प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १२:३७:४१ बजे

 

रुद्र बहादुर थिङ

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology