ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरको अपरेशन इन्चार्जमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुधीर राई सरुवा भएर आएका छन् । उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत डिएसपी हुन् । गत शुक्रबार ईपीएस कार्यालयमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएपछि ललितपुर परिसरमा कार्यरत डीएसपी उमेश लम्साललाई निलम्बन गरिएको थियो ।
बालकुमारी घटनामा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको भोलिपल्ट लम्साललाई निलम्बन गरिएको थियो । उक्त स्थानमा राईलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ईपीएस कार्यालयका प्रमुख गुरुदत्त सुवेदी, डीएसपी लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई निलम्बन गरिएको छ । ईपीएस कार्यालयमा भने अहिलेसम्म कसैलाई पठाइएको छैन ।
डीएसपी लम्साल यसअघि वृत्त महाराजगञ्जको प्रमुख रहँदा कोभिडको समयमा काम गरेर घर फर्कने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए । अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा उनी कारवाहीस्वरूप महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका थिए । डीएसपी लम्साल जुवाडे पक्राउको काण्डमा पनि आर्थिक विवादमा परेका थिए । लम्साल निकै विवादित डीएसपी हुन् ।
यस्तै उक्त घटनाका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय, प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारीबाट खोसेर तानिएको थियो ।
एसएपी शाह उहिले देखिनै विवादित छवि भएका प्रहरी अधिकृत थिए । उनको कार्यशैली र नियतमाथि पटकपटक प्रश्न उठ्दै आएको छ । उनी जहाँ जान्छन्, ‘डनपारा’ देखाइहाल्छन् । शाहले देखाउने दादागिरीले उनको छविमाथि मात्रै होइन्, नेपाल प्रहरीको छविमाथि नै आँच आइरहेको छ । तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट शाहलाई नेपाल प्रहरीमा समायोजन गरेका थिए । शाह रौतहट प्रहरी प्रमुख हुँदा पनि विवादित बनेका थिए । रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई एसएसपी शाहले लागूऔषध राखेर फसाउन खोजेका थिए । उनले प्रहरीलाई नै लागूऔषध राख्न लगाएर पत्रकार मोहम्मदलाई पक्राउ गरि फसाउन खोजेका थिए । तर, सिसिटिभि फुटेजबाट उक्त कुरा खुलेको थियो । निर्दोष पत्रकारलाई लागूऔषध राखेर फसाउन खोजेको प्रकरणमा उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको थियो । घटनाको छानबिन गर्न एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय समिती गठन गरेर शाहलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको थियो ।
गृह मन्त्रालयले सिडिओ र एसएसपी कसलाई पठाउने भन्ने निर्णय गर्न सकेको छैन ।
बालकुमारी घटनाको छानविन गर्न पुस १६ गते बसेको मन्त्रीपरिषदको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको हो ।
यो पनि पढ्नुहोस
गृहमन्त्री श्रेष्ठले भने ‘यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिले प्रदर्शनलाई उग्र बनायो’
बालकुमारी घटनाको छानविन गर्न जाँचबुझ आयोग गठन
बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय
बालकुमारी घटना छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने
ललितपुरका सीडीओ गृह मन्त्रालय र एसएसपि हेडक्वार्टर तानिए
बालकुमारी घटनामा मृत्यू भएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने
बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी र मन्त्री ज्वालाका पीएसओ निलम्बित
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ जना घाइते