काठमाडौं । शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौंदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो १ः५५ बजे काठमाडौंको चन्द्रगिरी नगरपालिका वडा नंं. ४ हिमचुली दुर्घटना भएको डीएसपी अधिकारीको भनाइ छ । गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।
गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौँ वडा नंं. ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, उनका ज्वाइँ काठमाण्डौं महानगरपालिका–२ लाजिम्पाट का डा. महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको हो ।

घाइते स्मारिकाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । चालक महेशकुमारकी श्रीमती सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल भएकी छिन् ।
शनिबार उनीहररू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौंडा–काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ ।