ललितपुर । ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका वडानं. १९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले रहेका छन् ।
ललितपुर महानगरपालिका वडा नं. १३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा ९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका वडा नं.१३ झरूवारासीबाट चोरी भएको बा ९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट वरिष्ठ सई उद्धव महतको नेतृत्वमा खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका वडा नं. १ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका वडा नं. ३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।