काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाको ब्याजदर घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरूले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । फागुन महिनाका लागि सबैभन्दा धेरै सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ ।
फागुनको लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७.३५ प्रतिशत ब्याजदर तोकेका छन् ।
यस्तै, फागुनको लागि प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत र प्रभु बैंकको ७ प्रतिशत ब्याजदर तोकिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८.५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७.६ प्रतिशत, नबिल बैंकको ७.७६ प्रतिशत, नेपाल एसबीआई बैंकको ८.१ प्रतिशत, कुमारी बैंकको ८.०१ प्रतिशत तथा एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको ८ प्रतिशत ब्याजदर छ ।
फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । अहिले बैंकमा निक्षेप अनुसार कर्जा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ ।