ललितपुर । कार्यसम्पादन मूल्याङ्कनमा ललितपुरका तीन नगरपालिकामध्ये महालक्ष्मी नगरपालिका पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार महालक्ष्मीले ३० दशमलव १५ अंक प्राप्त गरी ललितपुरका तीन नगरपालिकामध्ये जिल्लाकै उत्कृष्ट नगरपालिका बनेको हो ।
जिल्लाका ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावारी नगरपालिकामध्ये महालक्ष्मी उत्कृष्ट एको हो । गोदावारी नगरपालिकाले २७ दशमलव ३० र ललितपुर महानगरपालिकाले २५ दशमलव १८ अंक पाएको छ ।
तर ललितपुरका छ स्थानीय तहमध्ये महाङ्काल गाउँपालिका ३८ दशमलव ४४ अङ्कसहित पहिलो बन्न सफल भएको छ । कोन्ज्योसोम गाउँपालिका ३४ दशमलव ८२ र बागमती २६ दशमलव ०१ सहित अन्तिम भएको छ ।
सोही अनुसार बागमती प्रदेशले भने २७ दशमलव २९ अङ्क प्राप्त गरेको हो ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशकोसमेत कार्यसम्पादन मूल्याङ्न गर्दै आएको छ ।
यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।
आयोगका अनुसार १० असारभित्र बजेट ल्याए र नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए/नदिएको लगायतका आधारमा मूल्याङ्कन गरेको छ ।
स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहलेसमेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा पनि अङ्क दिएको छ ।
आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको पनि मूल्याङ्कन वित्त आयोगले गरेको छ ।
स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको सङ्ख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्यालाई समेत सूचकमा राखिएको छ ।
यी सूचकहरूमा गरिएको मूल्याङ्कनका आधारमा स्थानीय तहको प्राप्ताङ्क समेत औसत देखिएको छ । ललितपुरका स्थानीय तहको प्राप्ताङ्क २५ प्रतिशतबाट माथि ३९ प्रतिशतको बीचमा रहेको छ । कुनै स्थानीय तहले ५० प्रतिशतसम्म प्राप्त गर्न सकेका छैनन् ।
समग्र स्थानीय तहमा सन्धिखर्क पहिलो
कार्यसम्पादन मूल्यांकनमा समग्र स्थानीय तहमध्ये भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१ दशमलव ८१ अंक प्राप्त गरी पहिलो भएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका ५६ दशमलव २९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५ दशमलव ४० अंकसहित तेस्रो भएका छन् ।