ललितपुर । राष्ट्रिय भूमि आयोग ललितपुर जिल्लाले हालसम्म ३१ सय ९५ भूमिहीनहरूको लगत सङ्कलन गरेको छ । ती मध्ये ७१० जनाको तथ्याङ्क प्रविष्ट गरेको छ भने ३८६ जनाको निस्सा वितरण गरेको छ । भूमि आयोग ललितपुरले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
आयोगका अनुसार बागमती गाउँपालिकामा सबैभन्दा बढी लगत सङ्कलन गरिएको छ । आयोगले गोदावरी नगरपालिकासँग २०७९ असार ९ गते, बागमती गाउँपालिकासँग २०७९ साउन ९ गते, कोन्ज्योसोम गाउँपालिकासँग २०७९ साउन ११ गते, महाँकाल गाउँपालिकासँग २०७९ साउन १० गते र महालक्ष्मी नगरपालिकासँग २०८०साउन २२ गते सम्झौता गरी लगत संकलन गर्ने कार्य गरिरहेको छ । महालक्ष्मी नगरपालिकाको भने तथ्याङ्क प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ ।
ललितपुर महानगरपालिकासँग भने सम्झौता गर्न नसकिएको आयोगका अध्यक्ष श्रीगोविन्द महर्जनले सो अवसरमा जानकारी दिए । उनका अनुसार पटक पटक ताकेता गर्दा पनि ललितपुर महानगरपालिकाले चासो नदिएकोमा दुःखेसो पोखे ।
आयोगले गोदावरी नगरपालिकामा ९४२, बागमती गाउँपालिकामा ११ सय १५, कोन्ज्योसोम गाउँपालिकामा ९३२, महाँकाल गाउँपालिकामा २०६ भूमिहीनको लगत सङ्कलन गरेको छ ।
सङकलित लगतमध्ये गोदावरीमा ४३०, बागमतीमा १९९, कोन्ज्योसोममा ४२, महांकालको ३८ जनाको तथ्याङ्क प्रविष्टि गर्ने कार्य सम्पन्न भएको आयोगका सदस्य सचिव रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार गोदावरीमा २१५, बागमतीमा ९४, कोन्ज्योसोममा ४३ र महाँकालमा ३६ जना भूमिहिनलाई निस्सा वितरण गरेको बताए ।

सम्बन्धित पालिकाले निर्णय गरेर पठाएमा गाउँपालिकाहरूका भूमिहीनलाई तीन महिनाभित्र जग्गाधनी प्रमाण पूर्जा नै वितरण गर्न सकिने भूमि आयोग ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेले बताए ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोगका लागि भूमि सम्बन्धी ऐन अनुसार राष्ट्रिय भूमि आयोग गठन गरि देशैभर लगत सङ्कलन, प्रमाणिकरण र जग्गा वितरण कार्य सुरु गरेको हो ।