Logo

आइतवार, श्रावण २४ गते २०८३

images

खोकना विकासको लागि २० वर्षे योजना बनाएका छौं– वडा अध्यक्ष रविन्द्र महर्जन

खोकना विकासको लागि २० वर्षे योजना बनाएका छौं– वडा अध्यक्ष रविन्द्र महर्जन

रामहरि कार्की

२७, फाल्गुण २०८०
खोकना विकासको लागि २० वर्षे योजना बनाएका छौं– वडा अध्यक्ष रविन्द्र महर्जन
images

रविन्द्र महर्जन, ललितपुर महानगरपालिका–२१ को वडाअध्यक्ष हुन् । २०७९ सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र) बाट विजयी भएका हुन् । उनले नेकपा (एमाले) का उम्मेदवार ज्ञानभक्त डंगोललाई पराजित गरेका थिए । उनै वडा अध्यक्ष महर्जनसँग वडाको समग्र विकासको बारेमा दैनिकीन्युजले गरेको कुराकानीको सम्पादित अंशः

वडा अध्यक्षको रूपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
वडा अध्यक्षको रूपमा काम गर्न सहज नै हुन्छ । आफूले गर्ने काममा पनि भर पर्दछ । कानूनी प्रकृया अनुसार गरेपछि सहज नै हुन्छ । कहिले काही अप्ठ्यारो परिस्थिति पनि आउन सक्छ । कामको चाप र जनताका गुनासोहरूलाई व्यवस्थान गर्न सक्यौं भने सहज रूपमा नै वडा सञ्चालन गर्न सकिदो रहेछ ।

वडा अध्यक्ष भएपछि तपाईंले वडामा गर्नुभएका मुख्य मुख्य कार्यहरू के के हुन् ?
वडा अध्यक्ष भएपछि गरेको मुख्य काम भौतिक पूर्वाधारको काम हो । यसका अलवा खानेपानी, स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन, सम्पदा, रीतिरिवाज, परम्पराका कामहरू उल्लेखनिय रूपमा गरेका छौं । राजकुलो, कृषि, व्यवसाय प्रवद्र्धनका कामहरू पनि अहिले भैरहेका छन् । यी कामबाट वडावासीहरू लाभांन्वित भएका छन् ।

वडामा शिक्षा, पर्यटन, स्वास्थ्यको अवस्था कस्तो छ । यी क्षेत्रको विकासका लागि चाँही तपाईंंले कसरी भूमिका निर्वाह गर्दै हुनुहुन्छ ?
हाम्रो वडामा दुई वटा सामुदायिक र ३ वटा निजि विद्यालयहरू सञ्चालनमा रहेका छन् । यस वडामा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थीको चाप रहेको छ । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म नेपाल भाषामा पढाउने व्यवस्था मिलाएका छौं । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरिय बनाउनको लागि निजि शिक्षक, इसिडी शिक्षकको पनि व्यवस्था गरेका छौं । विद्यालयको भौतिक सुधारको काम पनि गरेका छौं । चाइना फाउण्डेशनसँग मिलेर स्मालिङ प्रोजेक्ट मार्फत विद्यार्थीहरूलाई दिवा खाजाको पनि व्यवस्था रहेका छौं । हामी निर्वाचित भैसकेपछि रुद्रायणि माविलाई कक्षा ११ सम्म स्तररोन्नति समेत गरेका छौ । यो वर्षदेखि मण्टेश्वरी पढ्ने साना नानी/बाबुलाई लक्षित गरेर निःशुल्क रूपमा कक्षा सञ्चालन गर्ने योजना बनाएका छौ, यसबाट अभिभावकले निजि विद्यालयमा तिर्नुपर्ने महगो शुल्कबाट वडावासीहरू मुक्त हुनेछन् ।
पर्यटनको सवालमा होमस्टे सञ्चालन गर्ने लक्ष्य लिएका काम गरेका छौं । तत्कालै ७ दने होमस्टेको तालिम सञ्चालन गर्नेछौं । खोकनाको प्रायः घरहरूमा आयस्रोतको लागि होमस्टे सञ्चालन गर्ने छौं । यहाँ हरेक महिनामा एउटा–एउटा सांस्कृतिक कार्यक्रम संचालन भैराखेका छन् । पर्यटन विकासको लागि खोकनाको १२ वर्षे मेला भैराखेको छ ।
स्वास्थ्यको कुरा गर्ने हो भने हामीले तीन वर्ष हुन लाग्यो, सबै वडावासीले निःशुल्क रूपमा औषधी उपचारको सुविधा पाउनु पर्छ भनेका छौ । निःशुल्क कार्यक्रम पनि चलाइ राखेका छौं, जसअन्तर्गत अहिले ४ जना डाक्टरले स्वास्थ्य परीक्षण गरिरहनु भएको छ । ल्याब सञ्चालन भैराखेको छ । इसिजि सेवा, भिडियो एक्सरेका सेवा, औषधी वितरण गर्ने कार्य भैरहेका छन् । यहाँ ल्याव परीक्षण नहुने केही परीक्षणको लागि निर्मामी डाइगोनिष्टसँग सम्झौता गरेका छौं, जहाँ ५० प्रतिशत छुटमा ल्याव परीक्षण हुनेछ । जेष्ठ नागरिकको लागि फिजियोथेरापी, आँखा परीक्षण्को लागि खोकना आई सेन्टर पनि सञ्चालनमा ल्याएका छौं ।

rabindra new.jpg

वडामा काम गर्न समस्या चाँही के के छन् ?
जनतालाई चेतनाको स्तर बढाउन, विकासमा साझेदारी गराउन अनि यो वडा हाम्रो हो भनी भावना जगाउन अलिक गाह्रो भएको छ । वडामा काम गर्न समस्या भनेको सांस्कृतिक सम्पदा क्षेत्रमा काम गर्न कार्यविधि बनेको छैन । परम्परागत रीतिरिवाज, सञ्चालन गर्न आर्थिक नभइ हुँदैन । कहिले काही आर्थिक समस्या हुने गरेको छ । बाटोघाटो विस्तारको क्रममा अलि बढी छलफल गर्नुपर्ने बाहेक खासै समस्या छैन ।

तपाई हिजो चुनावताका जनताको घरदैलोमा पुगेर भोट माग्द गरेका बाचाहरू के के पूरा गर्नुभयो ?
केही वाचाहरू पूरा भएका छन् भने केही बाँकी छन् । निर्वाचनको समयमा भनेको खोकनावासीहरूको लालपुर्जा छैन । लालपुर्जा नभएका पुराना वस्तीहरूको लालपुर्जा दिने काम अघि बढेको छ । अर्को वाचा वडावासीहरूलाई निःशुल्क खानेपानी वितरण गर्ने । यसको लागि बजेट विनियोजन गरिसकेका छौं । केही कार्यविधि बनाउनु पर्ने, मिलाउनु पर्ने भएकोले चाडै नै बनाएर निःशुल्क रूपमा खानेपानी वितरण गर्नेछौं । सांस्कृतिक रुद्रायणि देवखलः १२ वर्षे जात्रा संचालनको लागि ८ जना देव गण प्रवेश हुन बाँकी थियो । उहाँहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धनको लागि हामीले बचन दिएका थियौं । अब स्वास्थ्य विमाको काम बाँकी छ । आगामी वर्षदेखि स्वास्थ्य विमा कार्यक्रम लागु गर्नेछौं । आगामी वर्षमा बजेट समेत विनियोजन गर्नेछौं । देवगणहरू र उहाँको परिवारको निःशुल्क रूपमा गरिदिनेछौं एकजना देवगणलाई आइटी पढ्नको लागि रकम सहितको छात्रवृत्तिको व्यवस्था समेत गरेका छौं ।

तपाईको कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना रहेको छ ?
काम गर्नुपर्ने त धेरै छन् र गर्छौं भनेका छौं । मेरो कार्यकालमा वडामा खानेपानी, शिक्षा, स्वास्थ्य, सडकलगायतको क्षेत्रमा स्तरोन्नती गरी वडालाई समृद्धिको बाटोमा पु¥याउने योजना रहेको छ । सामाजिक चेतनाको स्तर वृद्धि गरेर खोकनाको मौलिक पहिचान कायम गर्ने योजना छ,, त्यसलाई संरक्षण गर्दै दिर्घकालिन योजना बनाएर लैजाने सोच छ । हामीले २० वर्षे योजना तयार पारेका छौ । यसमा स्वास्थ्य, शिक्षा, संस्कृतिको बारेमा समेटिएर अबको २० वर्षमा खोकना कस्तो हुनेछ भनेर बनाएका छौं । भविष्यमा खोकना सुन्दर, रमणिय पर्यटकिय गन्तव्यको रूपमा छुट्टै पहिचान बनाउनेछ ।

अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ की ?
खोकना पर्यटकिय सम्भावना बोकेको ठाउँ हो । यस वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं । निकट भविष्यमा नै यसको परिणाम देखिने गरी आउने छ । विकासको लागि सबै वडावासी एकजुट हुनुपर्छ । सबैको सहयोग पनि आवश्यक छ । सबै मिलेर काम गर्यो भने राम्रो प्रतिफल दिनेनै छ । म भाषण र कुरामा भन्दा पनि काममा बिश्वास गर्छु । सबै वडाबासीको सुझाब र सल्लाहअनुसार काम गर्ने प्रतिबद्वता गर्दछु ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - ०६:५६:०९ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology