विजय कुमार स्याङ्तान, कोन्ज्योसोम–५ को वडाअध्यक्ष हुनुहुन्छ । २०७९ सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुनु भएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवन कुमार तामाङ्गलाई पराजित गर्नु भएको थियो । वडा अध्यक्ष स्याङ्तानसँग वडाको समग्र विकासको बारेमा दैनिकीन्युजका दक्षिण ललितपुरका सम्वाददाता कृष्णप्रसाद घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः
वडा अध्यक्षको रूपमा काम गर्न कत्तिको सहज हुदो रहेछ ?
मलाई त्यस्तो असहज खासै केही छैन । म वडा अध्यक्षको रूपमा निर्वाचित हुनुपुर्व पनि विभिन्न संघ, संस्था, संगठन र राजनितिक हिसावले पनि सामाजिक क्रियाकलापमा सकृय सहभागी हुँदै सेवा गर्दै आएकोले मलाई त्यस्तो असहज केही परेन ।
वडा अध्यक्ष भएपछि तपाईले वडामा गरेका मुख्य मुख्य कार्यहरू के के हुन ?
म वडा अध्यक्षमा निर्वाचित हुनुपुर्व पहिलाको जनप्रतिनिधिले सुरु गरेका अधुरो कार्यहरूलाई पूर्णता दिनुपर्ने वाध्यता थियो । त्यसलाई पूर्णता दिदै अन्य भौतिक पुर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सहायक सडक बाटो, खानेपानी, मठ मन्दिर, पदमार्ग, सिढी बाटो, सिढी बाटोमा स्टोन फ्लेक विच्छ्याउने, गुप्तेश्वर मन्दिर निर्माण, पाटी, बालेश्वोरी मन्दिर, कोन्ज्योसोम प्रतिमा रिङरोड लगायतका कार्यहरू नै म निर्वाचित भएपछि गरेका मुख्य मुख्य कार्यहरू हुन् ।
वडामा शिक्षा, स्वास्थ्य र पर्यटनको अवस्था कस्तो छ । यी क्षेत्रको विकासका लागि तपाईंंले कसरी भूमिका निर्वाह गर्दै हुनुहुन्छ ?
लामो समयसम्म कोभिड–१९ कारणबाट प्रभावित शिक्षा विस्तारै लयमा फर्कदै छ । यस वडामा दुई वटा विद्यालय छन । विद्यालयमा वडाको तर्फबाट गर्नुपर्ने सहयोग सबै गरेका छौ । भौतिक संरचनालगायत कर्मचारी, शिक्षक व्यवस्था गरेका छौ ।
स्वास्थ्यको क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाई गर्भजाँच, सुरक्षित वर्थिङ गराउने र आवश्यक सरसल्लाह, आवश्यक भिटामिन, आईरनचक्कीलगायत नेपाल सरकारले स्वास्थ्य चौकीमा उपलब्ध गराउने ओैषधीलगायत सेवा स्वास्थ्य चौकीबाट सेवा पुर्याएका छौ । बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका खोपहरू, पूर्ण खोप अन्य ओैषधी उपचार आदि काम गरेका छौँ र जेष्ठ नागरिक तथा असक्तलाई घर घरमै गएर स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको छ । मैले पनि सकेसम्म र भ्यायसम्म स्वास्थ्यकर्मी संगसंगै गएर सल्लाह सुझाव तथा सेवा दिएको छु । महिनामा १ क्रेट अण्डा पोषणयुक्त खुराक विशेषगरी त्यस्ता परिवारमा वडाबाट प्रदान गरिएको छ । स्वास्थ्य चौकीबाट प्रदान हुने सम्पूर्ण अन्य सेवा सुविधा पनि प्रदान गरिएको छ ।
पर्यटनमा विशेषगरी पर्यटन प्रवर्धनका लागि गुप्तेश्वर गुफासँगै रहेको खुल्ला रूपमा रहेको देवतालाई मन्दिर बनाई विकास गर्ने काम भयो । मन्दिरसँगै बस्ने पाटी, मन्दिरसम्म पुग्ने सिढी बाटो निर्माण गरि स्टोन प्लेक छाप्ने काम भयो । बालेस्वरी मन्दिर बनाउने लगायत अन्य धेरै कामहरू भए । यहाँ पर्यटनको क्षेत्रमा केही कार्यक्रमहरू सञ्चालन हुँदैगर्दा पर्यटन मन्त्रालयबाट बजेट कटौती भए यसले पर्यटनका केही सोचेका कार्यहरू गर्न असहज बाताबरण बन्यो । यस वडालाई पर्यटनको गन्तव्यको रूपमा विकास गराउने योजना छ । आशा छ, मेरो यो कार्यकालमा शिक्षा, स्वास्थ र पर्यटनको कुरामा यस वडालाई उत्कृष्ट बनाउन सक्छु । यी क्षेत्रको विकासका लागि मेरो सकृय र सकरात्मक भुमिका हुनेछ र लागिपर्ने छु ।
वडामा काम गर्न समस्याहरू के के छन् ?
हाम्रो स्थानीय तह र हाम्रो वडामा आन्तरिक आय स्रोत नभएकोले सबै काम गर्न पर्याप्त आर्थिक स्रोतको कमि छ । सबै कार्य गर्न प्रदेश र संघको बजेटमा मात्रै भर पर्नुपर्ने बाध्यता छ । यस क्षेत्रबाट निर्वाचित संघ र प्रदेशका सांसदहरू मन्त्री नभएका कारण पनि कार्यक्रम ल्याउन असहज बनेको छ । केन्द्रमा भैरहने सत्ता समिकरण परिवर्तनका कारण र गठबन्धनका कारण पनि असहज हुने गरेको छ । राजनीतिमा भैरहेको सत्ता समिकरण परिवर्तनले पनि वडासम्म प्रभावित हुने कारणले स्थानीय तहका पालिका अध्यक्ष एउटा दलबाट निर्वाचित हुन्छ, वडामा अर्कै दल निर्वाचित छ, प्रदेश सांसद अर्कै दलको र संघीय सांसद अर्कै दलबाट निर्वाचित छ । यस्तो अवस्थामा पालिकाको बजेटले सबै जनअपेक्षा बमोजिम काम गर्न नसकिने र प्रदेश र केन्द्रबाट कार्यक्रम ल्याउन पनि कठिन हुने यस्तै यस्तै समस्या छन् । कतिपय यहाँका व्यक्तिहरू सहर बजार बस्ने र सबैलाई चिन्न र पहिचान गर्न नसक्ने त्यस्ता व्यक्तिको बारेमा थाहा नहुँदा सेवा प्रदान गर्दा अलि अफ्ठ्यारो हुँदो रहेछ । योजना सङ्कलन गर्दा धेरै योजनाहरू आउने र सबै सङ्कलित योजनालाई समेट्न पर्याप्त बजेट नहुने, छ महिना त यस वडामा विना वडा सचिव सेवा प्रवाह गर्नुपर्यो । यस्तै यस्तै समस्या हुँदा रहेछन् ।
तपाईंले चुनावताका जनताको घरदैलोमा पुगेर भोट माग्दा गरेका वाचाहरू के–के पूरा गर्नुभयो ?
मैले चुनावताका जनताको घरदैलोमा पुगेर भोट माग्दा गरेका बाचाहरू र घोषणापत्रमा उल्लेख गरेको कार्यहरू ५०% भन्दा बढी सम्पन्न गरिसकेको छु । घोषणापत्रमा उल्लेख नगरेका र बाचा नगरेका कार्यहरू पनि धेरै मात्रामा गरेको छु । मेरो बाँकी कार्यकालमा जनतालाई बाचा गरेका र घोषणापत्रमा उल्लेख गरेका सबै काम सक्ने र बाँकी जनताले अपेक्षा गरेका कार्हरु आवश्यकताका आधारमा प्राथमिकताका साथ सम्पन्न गर्ने छु ।
जनप्रतिनिधी भएर काम गर्दाका चुनौती, अप्ठ्यारा चाँही के के छन् ?
जनप्रतिनिधि भनेको चुनाबमा भोट हालेर जिताउने र भोट नहाल्नेको पनि प्रतिनिधि हुन्छ । जुनसुकै राजनीतिक दलबाट निर्वाचित भएपनि वा स्वतन्त्र रूपमा भएपनि निर्वाचित भएपछि भोट हाल्ने र नहाल्ने, सहयोग गर्ने र नगर्ने सबैको प्रतिनिधि हुन्छ । सार्वजनिक पदमा बसेर एकपक्षीय रूपमा हिड्न वा प्रस्तुत हुन मिल्दैन । तसर्थ यहाँ सबैलाई समान रूपमा समेटेर लानुपर्छ र सबैलाई सेवा सुविधा दिनुपर्ने हुन्छ । तर चुनावताका साथ दिने र सहयोग गर्नेलाई अलि बढी आकांक्षा हुने रहेछ र अरुलाई समेटेर लगेमा विपक्षीसँग मिल्यो भन्ने जस्तो कुरा आउनेरैछ । यस्तो अवस्थामा सबैलाई समेटेर सेवा सुविधा दिन, सेवा प्रवाह गर्न र योजना निर्माण कार्यमा अप्ठायारो हुने रहेछ ।
दक्षिण ललितपुरका प्रायः वडाअध्यक्षहरू सदरमुकाममा मात्र बस्ने गर्छन, तपाईको वडामा के छ ?
मेरो हकमा यो कुरा लागू हुदैन । म सधै गाउँमै बस्छु । योजना माग्न प्रदेशको सदरमुकाम हेटौंडा जाँदा बाहेक म सधे गाँउमै बस्छु । ठिक समयमा कार्यालय आउछु । पूरा समय म कार्यालयमै बसेर सेवा प्रवाह गर्छु । कहिलेकाही सभा, सम्मेलन, गोष्ठी, बैठकमा पालिका वा अन्य सार्वजनिक कार्यक्रममा जादा वा विशेष परिस्थितिमा पारिवारिक काम परेपनि काम सकाएर, मिलाएर कार्यालय उपस्थित भएर सेवा दिईरहेको छु ।
आफ्नो कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना छ ?
मेरो कार्यकालमा यस वडालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति, खेलकुदको विकास गराउने, वडामा कभर्डहल, खेलकुद मैदान, पार्क बनाउने, पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गराउने, कृषि तथा पशुपालनमा आकर्षक कार्यक्रम ल्याएर स्वरोजगारी सिर्जना गर्ने, यहाँको संस्कृति संरक्षण गर्ने, भौतिक विकास, सडक, खानेपानी, सबैको राम्रो विकास गराई शिक्षाको गुणस्तर वृद्धि गरि वडालाई पालिकाकै उत्कृष्ट वडाको रूपमा विकास गराउने योजना छ ।
अन्त्यमा यस दैनिकीन्युज मार्फत केही भन्नु छ की ?
यस दैनिकी न्युजमार्फत यस वडाको बारेमा र वडा अध्यक्षका रूपमा मैले गरेका कार्यहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्नुभएकोमा म यस दैनिकीन्युजलाई धन्यवाद भन्न चाहन्छु ।