विजय खड्का/ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चयनका सोमबार भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी जिल्ला अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त पुरुषोत्तम ढुंगानाले जानकारी गराए। निर्वाचन आयुक्त ढुंगानाका अनुसार अध्यक्षका प्रत्यासीहरु चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरेका छन् ।
यही चैत २३ गतेदेखि सुरु भएको ९औँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका बिषयमा सहमति नभएपछि आज निर्वाचन भएको हो ।
त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत र उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् ।
उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गर्दा प्रतिस्पर्धात्मक हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गरे ।
सचिवमा राम राउतले एक सय ७९ मत ल्याएर विजयी हुँदा उनका प्रत्यासी रत्न महर्जनले एक सय १२ मत प्राप्त गरे ।
उपसचिव खुलामा प्रभाकर थापाले एक सय ५४ मत प्राप्त निर्वाचित हुँदा उनका प्रत्यासी श्याम बजगाईले ९९ मत पाएको निर्वाचन आयुक्त ढुंगानाले जानकारी दिए।
उपसचिव महिलामा आशा राईले एक सय ४२ मत प्राप्त गरी विजयी भइन् भने प्रत्यासी संगीता अच्छामीले एक सय ४० मत प्राप्त गरिन् ।
निर्वाचनमा कुल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। एमाले ललितपुरको अध्यक्षमा चार जना आकांक्षी थिए। निवर्तमान अध्यक्ष आचार्य, चेतनाथ आचार्य, दिनेश कार्की र सुवर्ण श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका थिए।