ललितपुर । न्यायमा पहुँच अभिवृद्धिका लागि स्थानीय सरकारसँगको साझेदारी विषयमा ललितपुरमा सरोकारवालाहरूसँग छलफल भएको छ ।
बुधबार ललितपुरको गोदावरी नगरपालिकाको कार्यालयमा ललितपुर जिल्ला अदालत र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आम नागरिकको न्यायमा पहुँच अभिवृद्धिको लागि चेतनाको अभिवृद्धि हुन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै न्यायाधीश श्रेष्ठले नागरिकमा कानुनी ज्ञान अभिवृद्धि भएमा धेरै हदसम्म न्यायिक समस्या समाधान हुने बताएका हुन् ।
“काम, कर्तव्य र अधिकारको बारेमा जनप्रतिनिधिदेखि विभिन्न क्षेत्र र समुदायको कमजोर बुझाइ र चासो रहेको पाइन्छ । स्थानीय पालिकाका न्यायिक समितिलाई आफ्नो अधिकार क्षेत्रका बारेमा पूर्ण ज्ञान छैन । यसप्रकार हामी आफ्नो काम, कर्तव्य र अधिकार बारेमा सचेत छैनौँ । त्यसैले नागरिकको न्यायको पहुँचमा अवरोध सिर्जना गर्ने भनेको जनचेतनाको कमी नै हो”, न्यायाधीश श्रेष्ठले भने, “त्यसैले सरकारले व्यवस्था गरेको निःशुल्क कानुनी सहायता कक्षको पहुँच आम नागरिकसम्म पुग्न आवश्यक छ ।” त्यस्तै उनले मेलमिलापमैत्री समाजको निर्माण गर्नुपर्नेमा जोड दिँदै नागरिकको सहजरुपमा न्यायमा पहुँच स्थापित हुन सके धेरै समस्याको समाधान हुने बताए ।
कार्यक्रममा सर्वोच्चका न्यायाधीश श्रेष्ठले न्यायमा पहुँच अभिवृद्धिका लागि स्थानीय सरकारसँगको साझेदारिता र ललितपुर जिल्ला अदालतका न्यायधीश पुष्पराज थपलियाले स्थानीय सरकारसँगका साझेदारी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
ललितपुर जिल्ला अदालतका श्रेस्तेदार दुर्गा प्रसाद भट्टराईले जोखिममा रहेका जनसंख्या तथा विशेष गरी महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक, गरिब तथा सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न सबै तह र तप्काले भूमिका खेल्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठ, ललितपुर बार एशोसियसनका अध्यक्ष राम श्रेष्ठ, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन, बागमती गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामी, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकृत मान बहादुर खड्का लगायतको उपस्थिति रहको थियो ।