काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १ मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका वडा नं. १ खलंगाबाट बाँफिकोट गाउँपालिकाको वडा नम्बर ४ छिनखेततर्फ गइरहेको डबल क्याप बोलेरो गाडी वडा नम्बर १ को गिलवाङ नजिकै नेपाने भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भागोट नगरपालिका ८ मेहलकुनाका २९ वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका बड्डीचौरका २२ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।
उनका अनुसार घटनास्थलबाट उद्दार गरेर जिल्ला अस्पताल सल्ले पुर्याइएका उनीहरूलाई जिल्ला अस्पतालका डाक्टरले मृत घोषित गरेका थिए ।
त्यस्तै, तीन जना घाइते भएका छन् । घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका ५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका ५ कालीगौडीका २७ वर्षीय आरएन भनिने टीकाराम खनाल रहेको प्रवक्ता शाहीको भनाई छ ।
उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खसेको छ । उक्त गाडी तीन टुक्रा भएको बताइएको छ ।