काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ। पेट्रोल डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ घटेको नेपाल आयल निगमले जनाएको छ।
निगमकाअनुसार पेट्रोलको भाउ प्रति लिटर २ रुपैयाँले घटेको छ भने डिजेल र मट्टीतेलको भाउ प्रति लिटर एक रुपैयाँले घटेको छ। त्यस्तै आन्तरिक हवाई उडान इन्धन तर्फ प्रति लिटर ५ रुपैयाँले घटेको छ भने अन्तराष्ट्रिय हवाई इन्धन तर्फ प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटेको छ।
निगमले शनिबार साँझ सार्वजनिक गरेको विज्ञप्ति अनुसार, काठमाडौँमा अब पेट्रोलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर पर्नेछ। पोखरा र दिपायल क्षेत्रमा पनि यही मूल्य कायम हुनेछ। त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १६३ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ।
चारआली, विराटनगर, अमलेखगञ्ज जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
तर एलपी ग्यासको प्रति सिलिन्डर ३५ रुपैयाँ ११ ले बढेर आएको भएपनि भाउ यथावत राखिएको छ। निगमकाअनुसार घटेको भाउ भदौ १५ गते मध्यरातिदेखि लागू हुनेछ।