ललितपुर । भूमि समस्या समाधान आयोग जिल्ला समिति ललितपुरको अध्यक्षमा गणेश कुमार आचार्य नियुक्त भएका छन् ।

सोमवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशका ७१ जिल्लामा भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्ति गर्ने क्रममा ललितपुरमा आचार्यलाई नियुक्त गरिएको हो ।
गोदावरी नगरपालिका वडा नं.३, टौखेल निवासी आचार्य अधिवक्ता हुन् । उनीसँगै सोमबार काठमाडौँको नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहलमा ७१ जिल्लाका भूमि आयोग अध्यक्षले शपथ लिएका छन् ।

मन्त्रालयले सुरुमा ५६ जिल्ला अध्यक्षहरूको नियुक्त गरेको उल्लेख गरेको थियो । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहल नयाँबानेश्वरमा आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूको शपथ गराएका थिए । शपथ ग्रहणको समयमा यो सूची ७१ पुगेको हो ।
शपथ ग्रहण समारोहअघि आयोजित कार्यक्रममा मन्त्री अधिकारीले अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोशेढुंगा साबित हुने बताए ।
उनले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने उद्घोष गरे । उनले अहिलेको सरकारले तीव्र गतिमा काम गरिरहेको भन्दै वर्षौँदेखि हुन नसकेका कामहरूलाई ६ महिनामै गरेर देखाएको दाबी गरे ।
अब कोशी प्रदेशको तेह्रथुम, मधेसको सप्तरी र रौतहट, गण्डकीको स्याङ्जा, कर्णालीको जुम्ला र सुदूरपश्चिमको बझाङ र कञ्चनपुरका अध्यक्ष मात्रै नियुक्त हुन बाँकी छन् । पहिलो चरणमा प्राविधिक कारणले शपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरूको सम्बन्धित प्रदेशमै शपथग्रहण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ ।
सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसले ३५–३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो । सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन ।