ललितपुर । ललितपुरमा आयोजित मिडिया साक्षरता कार्यक्रममा धारणा राख्ने बक्ता तथा प्रशिक्षकहरूले पत्रकारिताका माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्छ भन्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघले बिहिवार आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पत्रकारहरुलाई गलत र नकारात्मक सन्देश फैल्याउने प्राथमिकताको उद्देश्य नलिन आग्रह गर्दै पेशाप्रति प्रतिवद्ध भएर समाजप्रतिको जिम्मेवारीबोध गर्दै निर्धक्क साथ काम गर्न आग्रह गरे ।

'वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कार्य पनि स्वीकार्य हुँदैन, पत्रकारितामा प्रश्न नउठ्ने गरि काम तपाईंहरुलाई गर्न मेरो आग्रह छ, अदृश्य लगानीका कारण केही समय मिडिया सञ्चालन हुने अनि निरन्तरता नपाउने अवस्था हुनुहुँदैन नकारात्मकता र एक पक्षको पक्षपोषक भएर पत्रकारिता नगर्न आग्रह छ।' उनले भने ।
उनले वर्तमान समयमा आशावादी कुरालाई सञ्चार गर्नुपर्ने र सकरात्मक सन्देश दिनुपर्ने आवश्यक छ भन्दै हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्ने जिम्मा पत्रकारमा पनि रहेको बताए। उनले विदेशमा रहेका नागरिकले आफ्नो देशको बारेमा राम्रो कुरा सुन्न पाउन् भन्दै पत्रकारिताले सकरात्मक सन्देश दिन सकोस् भने ।
कार्यक्रममा मिडिया कुराकानीका सम्पादक एवम् प्रशिक्षक रविराज बरालले पत्रकारितामा ए.आईको प्रयोग र चुनौती विषयमा प्रशिक्षण दिएका थिए ।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष अग्रज पत्रकार भवानी बरालले पत्रकारितामा सुचना प्रविधिको प्रभाव, पत्रकारको जिम्मेवारी, समाजप्रतिको दायित्व, प्रविधिको उपयोग, पक्षधरताका विषयमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी राजधानी दैनिकका पूर्व सम्पादक डिल्ली आर्चायले पत्रकारिताको आधारभुत अवधारणा विषयमा तालिम दिएका थिए ।

पत्रकार महासंघ ललितपुरका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार प्रभु नारायण बस्नेतले पछिल्लो समय प्रवधिले पारेका बारेमा आफ्नो अनुभव बताएका थिए ।

पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले गोदावरी नगरपालिकासंग निरन्तर सहकार्य हुने अपेक्षा राख्दै महासंघले नगरपालिकाको सञ्चार नीति र विज्ञापन नीतिमा आवश्यक सहयोग र सुझाव दिनसक्ने बताए ।