Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पञ्चायतकालीन ऐनबाट पूर्वाधार बिकासमा उपलब्धि हासिल हुन सक्दैन : अध्यक्ष लोप्चन

पञ्चायतकालीन ऐनबाट पूर्वाधार बिकासमा उपलब्धि हासिल हुन सक्दैन : अध्यक्ष लोप्चन

दैनिकी न्यूज

९, जेठ २०८२
पञ्चायतकालीन ऐनबाट पूर्वाधार बिकासमा उपलब्धि हासिल हुन सक्दैन : अध्यक्ष लोप्चन
images

ललितपुर । विद्युतीय खरिद सम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा धारणा राख्दै वक्ताहरूले पञ्चायतकालीन ऐनबाट पूर्वाधार विकासमा उपलब्धि हासिल हुन सक्दैन भन्दै यथाशीघ्र सुधारको आवश्यकता रहेको बताएका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंको आयोजना तथा बागमती गाउँपालिका पूर्वाधार विकास संस्थाको समन्वयमा भएको दुई दिने विद्युतीय खरिद सम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा मन्तव्य राख्दै ललितपुरको बागमती गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले दीर्घकालीन योजना अनुरुप विकास निर्माणका लागि अनुकूल नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिए।

23.PNG

'सूचना प्रविधिको युगमा पारदर्शिता, प्रतिस्पर्धा र जवाफदेहितालाई सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली एक आवश्यक उपकरण बनेको छ। यस प्रणालीबाट सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता, ढिलासुस्ती तथा अपारदर्शिता हटाउन सकिन्छ, यसबाट सरकारको खर्चमा पारदर्शिता ल्याउन सहयोग पुर्‍याएको छ।' उनले भने ।

अध्यक्ष लोप्चनले विद्युतीय खरिद प्रणालीलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन सुधार आवश्यक छ भने । 'साउनमा आर्थिक वर्ष सुरु हुन्छ, कार्तिक/मंसिरमा टेण्डर आव्हान हुन्छ, चार करोडको टेण्डर दुई करोडमा टेण्डर हुन्छ, बैशाख जेठमा मात्रै काम सुरु हुन्छ, अनि एक महिनामा एक करोडको मात्रै काम हुन्छ, यसले असारमा फरफक हुने कार्यले समस्या छ, तसर्थ, विकास योजनालाई प्रभावकारी बनाउन छिटोछरितो टेण्डर प्रक्रियाको व्यवस्थाका लागि सहज नीति नियम बनाउनुपर्छ।' उनले भने ।
अध्यक्ष लोप्चनले तालिमबाट सीप हासिल गर्ने बोलपत्रदाताहरुको व्यवसाय अव्वल हुन सकोस् भन्दै सिकेका सीप व्यवहारमा कार्यान्वयन गर्न ध्यान पुगोस् भन्ने शुभकामना व्यक्त गरे।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दंगालले अनलाइनबाट सेवा प्रवाह गर्ने पद्धतिको विकास भएको वर्तमान समयमा बोलपत्रदाताहरु विद्युतीय खरिद प्रणालीमा अध्यावधिक हुनु अनिवार्य भएको बताए ।
उनले बोलपत्रमा सहभागी हुनका लागि निर्माण व्यवसायीले अरुको भरमा पर्नेभन्दा पनि आफैंले पनि बिषयगत दक्षता हासिल गरेर काम गर्न सक्नुपर्ने आवश्यकता रहेको धारणा राखे।
दंगालले ठेक्कापट्टा प्रणालीमा राज्यको नीति नियम कानून पालना गर्नु अनिवार्य भएकोले यसको सचेतना नागरिक समाजसम्म हुनुपर्छ भन्नेमा जोड दिए । उनले सरकार र नागरिक भएर मात्रै बिकास सम्भव छैन भन्दै पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई पनि समेटन सक्नुपर्छ भन्नेमा जोड दिए।
कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, ललितपुर निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनालगायतले धारणा राखेका थिए ।
विहीबारदेखि शुरु भएको तालिम शुक्रबारसम्म सञ्चालन हुने वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - ०५:५६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology