ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहस र वैकल्पिक राजनीतिक संरचनाको एजेन्डा बोकेर अभियान्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता महतले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै पुराना दलहरूको विकल्पमा नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औंल्याएका हुन्।
महतले उम्मेदवार मात्र नभई संविधान संशोधन, प्रणालीगत सुधार र वैकल्पिक शासन व्यवस्थाबारे बहसको प्रतिनिधि बन्ने बताएका छन्। दलतन्त्रलाई नै लोकतन्त्रका रूपमा स्वीकार्ने चलन अब अस्वीकार्य भएको उल्लेख गर्दै उनले पुराना दलहरूले जनतालाई उपेक्षा गर्दै नेतातन्त्र थोपरेको आरोप लगाए। उनका अनुसार जनता अब वैकल्पिक बाटो खोज्न तयार भइसकेका छन्।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था प्रमुख मुद्दाका रूपमा उठाउने घोषणा गरे। वर्तमान प्रदेशसभा संरचना खर्चिलो र अप्रभावकारी भएको दाबी गर्दै उनले स्थानीय तहका प्रमुखलाई नै प्रदेशसभा सदस्यको भूमिकामा जिम्मेवारी दिने प्रस्ताव अघि सारे। त्यस्तै, मुख्यमन्त्रीलाई पनि जनताबाट प्रत्यक्ष निर्वाचित गर्नुपर्ने सुझाव प्रस्तुत गर्दै यसले कार्यकारी निकाय र जनप्रतिनिधिबीचको दूरी घटाउने तर्क राखे।
महतले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचारविरुद्ध कठोर कारबाही हुने स्पष्ट पारे। “देशलाई आहाल बनाउने भ्रष्टाचारको जरो उखेलेर निर्मम कारबाही गर्न आवश्यक वातावरण सिर्जना गर्नु मेरो पहिलो काम हुनेछ,” उनले पत्रकार सम्मेलनमा भने।
हालैको जेन जेड आन्दोलनलाई उनले पुराना दलतन्त्रविरुद्धको विस्फोटका रूपमा व्याख्या गर्दै समर्थन जनाए। “जेन जेडले पुरानो शक्ति संरचनालाई चुनौती दिएको छ। यही नै वैकल्पिक शक्तिको जग हो,” उनले जोड दिए।
त्यस्तै, राजधानी नजिकै भए पनि उपेक्षित दक्षिण ललितपुरका समस्यालाई विशेष प्राथमिकताका साथ उठाउने घोषणा गरे। उनले दक्षिण ललितपुरका तीन गाउँपालिकालाई छुट्टै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने योजना सार्वजनिक गरे।
ढुंगाखानी र क्रसर उद्योगमा गैरकानुनी दोहन भइरहेको आरोप लगाउँदै उनले अर्बौंको लगानी भएको उद्योग प्रशासन र सत्तासम्बद्ध व्यक्तिहरूले लुटेको दाबी गरे। “यो क्षेत्रमा व्यवस्थित करिडोर निर्माण गर्नुका साथै पुरातात्त्विक सम्पदालाई जोगाउन तुरुन्त कदम चाल्न जरुरी छ,” उनले बताए।
स्वतन्त्र उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा नभई वैकल्पिक राजनीतिक शक्तिको सुरुवातको रूपमा परिभाषित गर्दै महतले चुनावलाई नयाँ राजनीतिक धारको प्रारम्भिक कदमका रूपमा लिएका छन्। “स्वतन्त्र उम्मेदवारी अहिलेको आवश्यकता हो। तर यसलाई स्थायी बनाउन बलियो वैकल्पिक शक्ति निर्माणमा लाग्नैपर्छ,” उनले निष्कर्ष निकाले।
महत केही वर्ष अघि नेकपा (माओवादी केन्द्र) को राजनीतिमा सक्रिय थिए । पछिल्लो समय बाबराम भट्टराई नेतृत्वको नयाँ शक्तिको ललितपुर संयोजकको रूपमा समेत काम गरेको उनीसँग अनुभव छ ।