ललितपुर । गोदावरी नगरपालिका पूर्वाधार विकास संस्थाको आयोजनामा विजयादशमी र शुभ दिपावलीको अवसर पारेर शनिबार एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली समाजको सांस्कृतिक विविधता, धार्मिक आस्था र सामाजिक एकताको प्रतीकका रूपमा मनाइने महान् चाडहरूलाई उत्सवमय बनाउन तथा आपसी सद्भाव र समन्वयलाई सुदृढ गर्न उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमको प्रारम्भमा संस्थाका सहकोषाध्यक्ष माधव पुडासैनीले अतिथिहरूलाई स्वागत गर्दै पर्वहरूले ल्याउने आध्यात्मिक र सामाजिक ऊर्जा समाजलाई अझ सबल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी निर्माण व्यवसायी संघ ललितपुरका अध्यक्ष पञ्चराम महर्जनले विजयादशमी, दिपावली र छठ पर्वले नेपालीहरूको जीवनमा आशा, उमंग र ऊर्जा भरिदिने उल्लेख गर्दै यस्ता अवसरहरूले समाजमा पारस्परिक प्रेम, सौहार्द र एकताको भावना अझ प्रगाढ बनाउने बताए । उनले पर्वका यिन क्षणहरूले सबैलाई सुख, शान्ति र समृद्धि दिलाओस् भन्ने शुभेच्छा व्यक्त गरे ।
कार्यक्रम संस्थाका अध्यक्ष ऋषि कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा निर्माण व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले सामुदायिक एकता र आपसी सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए ।