Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जेन जेड आन्दोलनले देखाएको बाटोः एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

जेन जेड आन्दोलनले देखाएको बाटोः एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

दैनिकी न्यूज

११, आश्विन २०८२
जेन जेड आन्दोलनले देखाएको बाटोः एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड
images

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा विप्लव समूह) ललितपुरद्वारा शनिबार आयोजित ‘जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास’ विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले देशको स्थायित्व, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सम्पूर्ण राजनीतिक दलहरूले साझा धारणा बनाएर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

gr.jpg

शनिबार ललितपुरको डिलाइट पार्टी भेन्यूमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढा (सुशील) ले नेपालको राजनीतिक संरचना र शासन प्रणालीमा गम्भीर कमजोरी देखिएकाले संविधान पुनर्लेखन र शासकीय संरचनामा सुधार अनिवार्य रहेको बताए। उनले जेन जेड पुस्ताले प्रस्तुत गरेको विचार, माग र उत्पीडित वर्गको आवाजलाई सम्बोधन गर्दै दल, नेता र कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल ललितले जेन जेड आन्दोलनलाई माओवादी आन्दोलनकै निरन्तरता भएको दाबी गरे। उनका अनुसार बेरोजगारी, असमानता र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ता सडकमा उत्रिएको हो, जुन शासकहरूका लागि चेतावनी र सुध्रिने अवसर हो।

त्यसैगरी, माओवादी केन्द्रकै अर्का सदस्य दिपेन्द्र श्रेष्ठले युवापुस्ताको विद्रोहलाई आत्मसात् गर्दै लोकतन्त्र, विधिको शासन, स्थायित्व र कानूनी राज्य निर्माणमा दलहरूले ठोस प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे। उनले भ्रष्टाचार नियन्त्रणलाई आन्दोलनको मूल लक्ष्यका रूपमा व्याख्या गर्दै राजनीतिक आकांक्षालाई ठोस उपलब्धिमा रूपान्तरण गर्न दलहरूले जिम्मेवारी लिनुपर्नेमा जोड दिए।

नेकपा (एकीकृत समाजवादी) ललितपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापाले युवापुस्तालाई नेतृत्वमा स्थापित गर्ने बेला आएको बताए। उनले नेताहरू आफ्ना स्वार्थमा रमाउँदा जनताले रोजगार र सुशासन पाउन नसकेको आरोप लगाउँदै दलहरूको पुनर्गठन र पुनर्संरचनाको आवश्यकता औंल्याए।

प्रगतिशील कानून व्यवसायी संघका महासचिव खिमानन्द अधिकारीले देशको शासकीय संरचना व्यक्तिवाद र संकुचित सोचले ग्रसित भएकाले जेन जेड आन्दोलन जन्मिएको बताए। उनले सुधारतर्फ गम्भीर ध्यान दिन राजनीतिक दलहरूलाई आग्रह गरे।

कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपिलाल सिंतानले नातावाद र कृपावादकै कारण विद्रोह जन्मिएको टिप्पणी गर्दै यसलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे। उनका अनुसार, राजनीतिक दलहरूले नागरिकको आवश्यकता सम्बोधन गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्ने वातावरण बनाउनुपर्छ।

ललितपुर बार एशोसिएशनका कोषाध्यक्ष रमेशकुमार महर्जनले अस्थिर सरकार र सधैं एकै प्रकारका नेताहरू सत्तामा दोहोरिनु नै विद्रोहको कारण बनेको बताए। उनले राजनीति गर्नेहरूले जनतालाई सम्पन्न बनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए।

यसैगरी, ललितपुर निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष भगीरथ तिमल्सिनाले नेताहरूको कार्यशैलीमा देखिएको अस्थिरता नै समस्याको मूल जरा भएको बताए। उनले जनताको आधारभूत आवश्यकता सम्बोधन गर्दै विश्वास जित्नुपर्ने र आदर्शका नारा मात्रै होइन, जनताको जीवनस्तर उकास्ने व्यवहारिक राजनीति गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा अधिकांश वक्ताहरूले जेन जेड पुस्ताले ल्याएको विद्रोहलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने निष्कर्ष निकाले। उनीहरूको भनाइमा, स्थायित्व, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि साझा सहमति आवश्यक छ, र यो सहमति नै देशलाई नयाँ दिशातर्फ अघि बढाउने मुख्य आधार बन्न सक्छ।

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १९:५२:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology