काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दैछ। यसैको प्रभाव स्वरूप नेपालमा मनसुनी वायु सक्रिय भई असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनजन्य गतिविधि तीव्र हुने सम्भावना रहेको छ।
यस क्रममा विशेष गरी काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा पर्ने स–साना नदी–नालामा आकस्मिक बहाव हुने उच्च जोखिम देखिएको छ।
विभागले नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीमा बहाव बढ्ने र खतरा तह नजिक पुग्न सक्ने चेतावनी दिएको छ। साथै महाभारत र चुरे क्षेत्र हुँदै बहने खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहेको बताइएको छ।
हाल नेपालमा मनसुन अझै अन्त्य नहुँदा विपद् जोखिम उच्च रहेको भन्दै विभागले निरन्तर अनुगमन भइरहेको जनाएको छ। विभागले भनेको छ, “यस अवधिमा विभागले वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५, ९११५५० लगायत माध्यममार्फत अद्यावधिक पूर्वसूचना उपलब्ध गराउने भएकाले सबैले जानकारी लिएर सतर्कता अपनाउन आवश्यक छ।”
संभावित बाढी, डुबान, पहिरो, भूक्षय लगायतका जोखिमका साथै सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विभागले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसँग सम्बन्धित निकाय तथा आम सर्वसाधारणलाई आवश्यक पूर्वतयारी गर्न अपिल गरेको छ।