काठमाडौं । केही प्रदेशमा आज वर्षाको सम्भावना छ । केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंलगायत केही स्थानमा वर्षा सुरु भइसकेको छ । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वागती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मधेस, वगमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । विभागले राति कोसी, मधेस, वागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ ।
कोसी, मधेस, वागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेका कारण भारी वर्षाको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।