Logo

आइतवार, श्रावण २४ गते २०८३

images

देशभर फैलिँदै मनसुन, उच्च सतर्कता अपनाउन विभागको अपिल

देशभर फैलिँदै मनसुन, उच्च सतर्कता अपनाउन विभागको अपिल

दैनिकी न्यूज

१९, आश्विन २०८२
देशभर फैलिँदै मनसुन, उच्च सतर्कता अपनाउन विभागको अपिल
images

काठमाडौं । मुलुकका धेरैजसो भूभागमा मनसुन सक्रिय बनेसँगै आइतबारसम्म देशभर वर्षा प्रणाली फैलिने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले भारी वर्षाको सम्भावना रहेकाले आम नागरिकदेखि सरकार र सरोकारवाला निकायहरूलाई उच्च सतर्क रहन अनुरोध गरेको छ ।

शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार दिनभर निरन्तर जारी रह्यो । विशेषगरी मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा रेकर्ड भएको विभागको मौसम पूर्वानुमान महाशाखा र जलवायु विश्लेषण शाखाले जानकारी दिएको छ ।

विभागका महानिर्देशक कमलराम जोशीका अनुसार बङ्गालको खाडीमा विकसित मनसुनी न्यूनचापीय प्रणाली हाल नेपालभर फैलिएको छ । “शनिबार राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म अत्यधिक वर्षा हुने सम्भावना छ,” उनले बताए, “त्यसैले सबैले जिउधनको सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।”

उनका अनुसार बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा थप भारी वर्षा हुने सम्भावना उच्च छ । नदी, खोलानाला र तटीय क्षेत्रमा डुबान तथा सहरी क्षेत्रमा जलमग्नता हुन सक्ने जोखिम रहेकाले नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ ।

विभागले असोज १५ गते नै एक विज्ञप्ति जारी गर्दै टीकाको भोलिपल्टदेखि मनसुन पुनः सक्रिय हुने चेतावनी दिएको थियो । वर्षा गराउने प्रणाली पूर्व–उत्तरबाट देशभर फैलिँदै आइतबार दिउँसोपछि क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा मधेशका १२ स्थानमा अत्यधिक वर्षा रेकर्ड गरिएको छ । रौतहटको महेशपुरमा ३४८ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन हालसम्मको सबैभन्दा बढी हो । त्यसैगरी गौरमा ३२७, गरुडामा २७६, वीरगन्जमा २८५, पोखरियामा २३३, कलैयामा २५५, परवानीपुरमा २०६, निजगढमा १९१, र जितपुरमा १८६ मिलिमिटर वर्षा मापन गरिएको छ । विभागले रातभर यो आँकडा अझ बढ्न सक्ने जनाएको छ ।

आइतबार दिउँसोसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका धेरै स्थानमा भारी वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार लगातारको वर्षाले माटो कमजोर भइसकेकाले सानो वर्षाले पनि पहिरो र भेलबाढीको जोखिम बढ्न सक्छ ।

विभागले रातिको समयमा विशेष सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास नगर्न सबैलाई आग्रह गरेको छ ।

images
प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - ०९:०२:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology