Logo

आइतवार, श्रावण २४ गते २०८३

images

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः संयोजक प्रचण्ड

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः संयोजक प्रचण्ड

दैनिकी न्यूज

२, कार्तिक २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः संयोजक प्रचण्ड
images

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पार्टीको जिम्मेवारी र भूमिका अझ बढेको बताएका छन् ।

ललितपुर महानगरपालिका समितिद्वारा नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्यूमा आइतबार विहान आयोजित शुभकामना आदानप्रदान, चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेको र यस्तो अवस्थामा माओवादी केन्द्रले जनताको आशा–आकाङ्क्षा पूरा गर्ने दिशामा निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

प्रचण्डले हालै जारी गरिएको १० बुँदे मार्गदर्शनलाई पनि यही परिस्थितिमा पार्टीलाई एकीकृत दिशा दिने प्रयासको रूपमा प्रस्तुत गरे । उनले भने, “गत भदौ २३ गते ‘जेनजी’ आन्दोलनले बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाएर देशमा सुधारको आवश्यकता औंल्यायो । तर भदौ २४ गतेको घटनाले गलत प्रवृत्तिको खतरनाक रूप पनि देखायो । त्यसपछि हामीले राज्यविहीनताको सम्भावित अवस्थालाई रोक्न सक्रिय भूमिका खेल्यौँ ।”

उनका अनुसार, जेनजी आन्दोलनका धेरै मागहरू माओवादी केन्द्रकै मागहरूसँग मेल खाने भएकाले पार्टीले ती मागहरूको समर्थन गरेको हो । उनले युवाको भावना, सोच र अपेक्षाअनुसार पार्टीले आफैंलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए । “परिवर्तित परिस्थितिमा रुपान्तरण गर्न सक्ने पार्टी माओवादी हो । युवासँग निरन्तर संवाद र छलफल भइरहेको छ । संविधान संशोधनका माध्यमबाट उनीहरूले बुझ्नुपर्नेछ कि क्रान्तिकारीहरूले मित्र र शत्रु चिन्न जान्नुपर्छ,” प्रचण्डले स्पष्ट पारे ।

संयोजक प्रचण्डले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता विषयमा जनस्तरमा गहिरो बहस आवश्यक रहेको उल्लेख गरे । उनले लेनिनको विचार उद्धृत गर्दै भने, “क्रान्तिकारी पार्टी र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिवादीहरूले कहिल्यै गर्दैनन् । भ्रष्टाचारीहरूको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै होइनन् ।”

कार्यक्रमका क्रममा प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भइरहेका गतिविधिलाई षड्यन्त्र र गलत सन्देशको सुरुवातको रूपमा चित्रण गरे । साथै, उनले पार्टी नेतृत्वको विषयमा बाह्य हस्तक्षेप अस्वीकार्य भएको भन्दै, “को पार्टीको नेतृत्वमा हुनुपर्छ भन्ने कुरा पत्रकार वा बाह्य व्यक्तिहरूले होइन, पार्टीका सदस्यहरूले निर्णय गर्ने हो,” भन्ने स्पष्ट सन्देश दिए ।

pampha.jpg

त्यसैगरी, केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले वर्तमान संविधानले जनताको अधिकतम अधिकार सुनिश्चित गरेको बताइन् । उनले समाजवादी जनक्रान्ति सफल पार्नका लागि जेनजी आन्दोलनले उठाएका माग र आकाङ्क्षालाई आत्मसात् गर्दै सुशासन र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिइन् ।

भुसालका अनुसार, जेनजी आन्दोलनका क्रममा संविधान र व्यवस्थामाथि भएको आक्रमण अत्यन्त गम्भीर थियो, जसविरुद्ध राष्ट्रपतिले देखाएको दृढ भूमिकाले आन्दोलनलाई शान्त पार्न योगदान पुर्‍यायो । उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै तहका कार्यकर्ताहरू जिम्मेवार हुनुपर्ने बताइन् ।

कार्यक्रममा माओवादी केन्द्र ललितपुर महानगर कमिटी इन्चार्ज तथा संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई नयाँ उत्साह र जिम्मेवारीसहित रुपान्तरण गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले तल्लो तहसम्म नयाँ कार्ययोजना लागू गरी संगठनलाई जनस्तरसम्म विस्तार गर्ने तयारी भइरहेको बताए ।

ललितपुर महानगर कमिटिका अध्यक्ष रवीन्द्र महर्जनले पनि माओवादी केन्द्रलाई समुदायमा गहिरो रूपमा स्थापित गर्दै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु दिनेश महर्जन, हरि दाहाल, गंगा पराजुली, उर्मिला लामा, मनऋषि धिताल, दिपेन्द्र श्रेष्ठ, श्रीगोविन्द महर्जन, रामप्रसाद सापकोटा दिपशिखा लगायत बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, जिल्ला तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वातावरण सौहार्दपूर्ण र संवादमुखी रहेको उक्त कार्यक्रममा सहभागीहरूले नेपाल संवत् ११४६ को शुभकामना आदानप्रदान गर्दै एकताको सन्देश प्रवाह गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक २, २०८२ आइतवार - १२:०९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology