काठमाडौं । लामो समयदेखि “भागेका” भनेर चर्चा चलिरहेका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का अन्ततः सार्वजनिक भएका छन् । सोमबार बिहान उनी आफ्नै बुढानीलकण्ठस्थित जलेको घरमा पत्रकारहरूसामु देखा परेका हुन् ।
गत भदौ २३–२४ गतेका घटनापछि आन्दोलनकारीहरूले खड्काको घरमा आगजनी गरेका थिए । सोही घरको भग्नावशेषबीच उनले पत्रकारहरूसँग देशको वर्तमान राजनीतिक परिस्थिति, आन्दोलनका घटना र आफ्नो अवस्थाबारे खुलेर कुरा गरे ।
खड्काले आफू भागेको भन्ने हल्ला पूर्ण रूपमा असत्य भएको दाबी गर्दै भने, “आन्दोलनपछि सेनाले सुरक्षाको जिम्मा लियो । त्यसपछि म केही दिन तराईतिर बसेँ । त्यसक्रममा मलाई र मेरो परिवारलाई डेंगु भयो, त्यसकै उपचारका लागि भारत गएको हुँ । उपचारको सबै रेकर्ड छ । तर यहाँ धेरै हल्ला फैलाइयो — अमेरिका पुगेछ, कतै लुकेछ भन्ने।”
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्तिको छानबिन सुरु गरेपछि खड्का फरार भएको बताएका थिए । त्यसपछि विभिन्न मिडियामा खड्का भारत नभई अमेरिका पुगेको दाबीसमेत गरिएको थियो ।
तर खड्काले यी सबै समाचारहरूलाई “आधारहीन र राजनीतिक उद्देश्यले फैलाइएको प्रचार” भनेर खारेज गरेका छन् । उनका अनुसार आफू अहिले पनि नेपालमै रहेको र आवश्यक परे सरकार वा सम्बन्धित निकायसँग पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट गरेका छन् ।
आन्दोलनका क्रममा आगजनी र क्षतिको विवरणबारे उनी भन्छन्, “मन्त्रीको रूपमा नभएर नागरिकको रूपमा पनि पीडित भएको महसुस गरेको छु । घरमा भएको क्षति ठूलो छ, तर यसले म दृढ बनाएको छ ।”
उनको घरमा आगजनी हुँदा प्रहरी र सेनाले उद्धार कार्य गरेको थियो । अहिले घरको अधिकांश भाग जलेको अवस्थामा छ र स्थानीय बासिन्दाले पुनःनिर्माणका काममा सहयोग गरिरहेका छन् ।