काठमाडौँ । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उदाउँदो सूर्यको दिन पर्ने कार्तिक ११ गते (मंगलबार) पनि सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
उपसचिव गणेश नायकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि यो निर्णय २०८१ चैत २२ गते प्रकाशित ‘प्रदेश राजपत्र’मा समावेश २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो। हाल अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन बिदा दिनुपर्ने माग बढ्दै गएपछि प्रदेश सरकारले उक्त मागलाई आंशिक रूपमा सम्बोधन गरेको हो।
यो निर्णयसँगै मंगलबार मधेस प्रदेशका सबै सरकारी कार्यालय, विद्यालय र अन्य निकायहरू बन्द रहनेछन्। छठ पर्व विशेष गरी मिथिला क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठ मइयाको आराधना गर्दै धूमधामका साथ मनाउने गर्छन्।