Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा १३ जनाको मृत्यु

सवारी दुर्घटनामा १३ जनाको मृत्यु

दैनिकी न्यूज

८, कार्तिक २०८२
सवारी दुर्घटनामा १३ जनाको मृत्यु
images

काठमाडौं । रूकुम पश्चिम, स्याङ्जा, प्युठान, रूपन्देही, दाङ, पाल्पामा भएको सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

रूकुम पश्चिम, बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित सडकमा मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा आठबिसकोट नगरपालिका-३ स्याला बस्ने ३० वर्षीया कमला वली, सोही नगरपालिका-१ बस्ने १६ वर्षीय टेक जंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, सोही नगरपालिका-२ बस्ने १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल वलीको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएकी आठबिसकोट नगरपालिका-२ बस्ने २८ वर्षीया सबिता विकको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ९ जनामध्ये ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।

स्याङ्जा, पुतलीबजार नगरपालिका-१४ आमडाडास्थित सडकमा सतौबाट लामागेतर्फ आउँदै गरेको लु.५९ प ३७९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-१४ लामागे (लम्सालडाँडा) बस्ने ४५ वर्षीय माधब प्रसाद लम्सालको घटनास्थलमै मृत्यु भएको छ ।

प्युठान, माण्डवी गाउँपालिका-५ रम्दीस्थित सडकमा ऐरावती देखि चकचकेतर्फ जाँदै गरेको लु.प्र.-०३-००१ ज ००१८ नम्बरको गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक ऐरावती गाउँपालिका-५ गोठीबाङ बस्ने २६ वर्षीय निरज नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनालाई थप उपचारको लागि बुटवलतर्फ रिफर गरिएको छ ।

रूपन्देही, देवदह नगरपालिका-९ घोडाह जंगलस्थित सडकमा खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु.४ प ९९५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-६ ईट्टाभट्टी बस्ने २५ वर्षीय सम्सेर खानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धबाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ ।

दाङ, घोराही उपमहानगरपालिका-१३ ओडारखोलास्थित सडकमा पिउरेबाट घोराहीतर्फ आउँदै गरेको रा.१ ह ५८१० नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही उपमहानगरपालिका-१९ बस्ने ३६ वर्षीया बम कुमारी विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको संजिबनी मेडिकल कलेज अफ मेडिकल साईन्सेज नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ६ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, रामपुर नगरपालिका-७ तुरूङदी खोलास्थित सडकमा लु.१३ प ८६३५ नम्बरको मोटरसाइकल र लु.७७ प ४५०५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा लु.१३ प ८६३५ नम्बरको मोटरसाइकलमा सवार बगनासकाली गाउँपालिका-९ बस्ने २८ वर्षीय अर्जुन विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.७७ प ४५०५ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डबी अस्पताल काठमाडौं रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८२ शनिवार - १८:२१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology