Logo

आइतवार, श्रावण २४ गते २०८३

images

संवाद र सहमतिको बाटोमा अघि बढ्न गृह मन्त्रालयको आग्रह

संवाद र सहमतिको बाटोमा अघि बढ्न गृह मन्त्रालयको आग्रह

दैनिकी न्यूज

९, कार्तिक २०८२
संवाद र सहमतिको बाटोमा अघि बढ्न गृह मन्त्रालयको आग्रह
images

काठमाडौं । देशमा स्थायित्व र निर्वाचनमुखी वातावरण सुदृढ बनाउन सरकार सक्रिय रहेको भन्दै गृह मन्त्रालयले सबै पक्षलाई संयम अपनाई संवाद र सहमतिको बाटो रोज्न आह्वान गरेको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकार सबै नागरिकका जायज माग, चासो र सरोकार सुन्न तयार छ। कुनै पनि असन्तुष्टि वा समस्या समाधानका लागि वार्ता नै सबैभन्दा उपयुक्त र स्थायी माध्यम हो।”

हालै विभिन्न समूहहरूले सामाजिक सञ्जालमार्फत धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम घोषणा गरेपछि मन्त्रालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका अनुसार भदौ २३ र २४ गतेका आन्दोलनपछि क्षतिग्रस्त संरचनाहरू पुनःनिर्माण भइसकेका छन् र शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्किएको छ।

मन्त्रालयले चेतावनी दिँदै भनेको छ, “चुनावी तयारीमा केन्द्रित वर्तमान अवस्थामा केही स्वार्थ समूहले अशान्ति फैलाउने प्रयास गर्न सक्ने सम्भावना देखिएको छ, त्यसैले आयोजकहरूले यस्ता गतिविधिमा कुनै घुसपैठ हुन नदिन सतर्क रहनु आवश्यक छ।”

‘जेनजी आन्दोलन’को बलमा बनेको वर्तमान सरकारले फागुन २१ गते तय गरिएको आमनिर्वाचनलाई सफल बनाउन कानुनी, प्राविधिक र वित्तीय तयारी तीव्र रूपमा अगाडि बढाइरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। निर्वाचनसम्बन्धी कानुन संशोधनदेखि लिएर राजनीतिक दल र सरोकारवालासँगको संवाद निरन्तर जारी रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नागरिकले आफ्नो माग राख्दा शान्तिपूर्ण वातावरण कायम रहोस्, जनताको स्वतन्त्र जीवन, सार्वजनिक सेवा प्राप्त गर्ने अधिकार र निर्वाचनमा सहभागी हुने हक कुण्ठित नहोस् भन्नेमा सबै जिम्मेवार पक्ष सचेत रहनुपर्छ। राष्ट्रिय सुरक्षामा खलल नपरोस्, साम्प्रदायिक सद्भाव टिकून् र राष्ट्रिय हित सुदृढ होस् भन्ने उद्देश्यमा सबैले साझा जिम्मेवारी वहन गर्नुपर्छ।”

images
प्रकाशित मिति :कार्तिक ९, २०८२ आइतवार - ०७:२३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology