ललितपुर । गोदावरी नगरपालिका–३ को वित्तीय सहयोगमा आइतबारदेखि तीन दिने एकल महिला स्वरोजगार तालिम सुरु भएको छ। एकल महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउन उद्देश्य राखिएको यो तालिम मंगलबारसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन गोदावरी–३ का वडा अध्यक्ष राज घिमिरेले एक विशेष समारोहबीच गरे। तालिमका सहजकर्ता हरि महर्जनका अनुसार तालिममा एकल महिलालाई स्वरोजगारका विविध पक्षहरूका साथै अधिकार, कर्तव्य र नेतृत्व सीपसम्बन्धी ज्ञान दिइनेछ।

उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष घिमिरेले एकल महिलालाई आत्मनिर्भर बनाउन यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताए। उनले भने, “यो आराम गर्ने समय होइन, देश विकासका लागि सकेको सहयोग गर्नुपर्ने समय हो। महिलाबिनाको विकास सम्भव छैन। उनीहरू आधा आकाश ओगट्ने शक्ति हुन् र सृष्टिकर्ता पनि उनीहरैनै हुन्।”
अध्यक्ष घिमिरेले आफ्नो वडालाई “देशकै उत्कृष्ट वडा बनाउने” लक्ष्य लिएको उल्लेख गर्दै विकासका सबै कार्यक्रमहरूमा महिलाको समान सहभागिता सुनिश्चित गर्न वडाले प्राथमिकता दिएको बताए। उनले थपे, “५–१० वर्षअघि हाम्रो वडा कस्तो थियो, अहिले कस्तो भएको छ — त्यो वडावासीहरूले अनुभूत गर्नुभएको छ। वडाले कसैप्रति भेदभाव नगरी सबैका लागि विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ।”
उनले विशेष रूपमा एकल महिलाको अवस्था सुधारका लागि वडाले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै भने, “विविध कारणले महिला एकल बन्न सक्छिन्, र एकल महिलाको जिम्मेवारी अझ बढी हुन्छ। मेरो आमा पनि एकल महिला हुनुभयो। उहाँले दुःख–सुख सहेर मलाई हुर्काउनुभयो। त्यसैले समाजले एकल महिलालाई छुट्टै दृष्टिले हेर्नु हुँदैन।”
घिमिरेले तालिममा सहभागी महिलाहरूलाई आत्मनिर्भर बन्न र सीपलाई व्यवहारमा उतार्न आह्वान गरे। उनले भने, “आज सिक्ने दिन हो, भोलि सिकेको कुरा व्यवहारमा उतार्नुपर्छ। गोदावरी–३ का महिलाहरू बुद्धिमान र स्वावलम्बी छन्, अब स्वरोजगार बन्नुहोस्। तपाईंहरूले उत्पादन गर्नुभएका सामग्री वडाले किनेको र बजारमा पुर्याउने जिम्मेवारी लिन्छ।”
उनले सहयोग धनको हैसियतले होइन, मनको भावना बोकेर गरेको उल्लेख गर्दै भने, “आफूले कमाएको धनमा प्रेम हुन्छ। म धन भएर होइन, मन भएर सहयोग गर्छु। यो सुरुवाती अभियान हो, तर निरन्तरता दिनुपर्छ।”
वडा अध्यक्ष घिमिरेले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने तीन महिलालाई व्यक्तिगत रूपमा पुरस्कृत र सम्मान गर्ने घोषणा पनि गरे।
तालिमका सहजकर्ता हरि महर्जनका अनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई स्वरोजगारसँग सम्बन्धित व्यावहारिक सीपका साथै संस्थागत विकास, बैठक सञ्चालन प्रक्रिया र माइन्युट लेख्ने तरिका पनि सिकाइनेछ।
तीन दिनसम्म चल्ने यस तालिमबाट सहभागी महिलाहरूले आत्मनिर्भर जीवनशैलीको बाटोमा अघि बढ्ने अपेक्षा गरिएको छ।