Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज रातिदेखि देशभर वर्षा र हिमपातको सम्भावना

आज रातिदेखि देशभर वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

१०, कार्तिक २०८२
आज रातिदेखि देशभर वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म देशका विभिन्न स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले जारी गरेको विशेष पोस्ट–मनसुन मौसम बुलेटिन अनुसार पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आउँदो दुई दिन देशको मौसम प्रभावित हुने अनुमान गरिएको हो ।

विभागका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुन सक्नेछ भने अन्य प्रदेशका हिमाली तथा उच्च पहाडी भू–भागमा मध्यम स्तरको हिमपातको सम्भावना छ ।

अरब सागरको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भागका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएको छ ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, पर्वतारोहण र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यसअघि पर्यटन विभागले हिमाली क्षेत्रतर्फ यात्राका क्रममा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ भने मौसमविद्हरूले धानबाली काटिसकेपछि खेतमा नछाड्न किसानलाई सुझाव दिएका छन् ।

मौसमविद्हरूका अनुसार अरब सागरमा बनेको प्रणालीले देशको पश्चिमी भू–भागमा बढी प्रभाव पार्नेछ । सोसँगै बङ्गालको खाडीमा विकसित अर्को प्रणाली—‘मोन्था’ नामक चक्रवात—पूर्वी क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

बङ्गालको खाडीको यो प्रणालीले बुधवार वा बिहीवारदेखि शनिवारसम्म प्रभाव देखाउने सम्भावना छ, जसले कोशी र पूर्व मधेश प्रदेशमा मुसलधारे वर्षा गराउन सक्छ । काठमाडौँ उपत्यकासम्म पनि हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

यस प्रणालीका कारण पदयात्रा र कृषि कार्यमा असजिलो भए पनि यसले वायु प्रदूषण कम गर्न, हिमालमा हिउँ थप्न, जलस्रोतमा प्रवाह बढाउन र जमिनको आद्रता कायम राख्न सहयोग पुर्‍याउने भएकाले कृषिबालीका लागि लाभदायी हुने विभागको भनाइ छ ।

images
प्रकाशित मिति :कार्तिक १०, २०८२ सोमवार - १६:३४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology