Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आन्दोलनमा क्षति पुर्‍याइएको बुंगमती प्रभागको भवन पुननिर्माण गरी हस्तान्तरण

आन्दोलनमा क्षति पुर्‍याइएको बुंगमती प्रभागको भवन पुननिर्माण गरी हस्तान्तरण

दैनिकी न्यूज

१२, कार्तिक २०८२
आन्दोलनमा क्षति पुर्‍याइएको बुंगमती प्रभागको भवन पुननिर्माण गरी हस्तान्तरण
images

ललितपुर । भदौ २४ गतेको जेड जेड आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी प्रभाग बुंगमती (भैसेपाटी) को भवन पुनःनिर्माण सम्पन्न गरी औपचारिक रूपमा नेपाल प्रहरीले पुनः प्रयोगका लागि ग्रहण गरेको छ। स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले मंगलबार आयोजित कार्यक्रममा भवनको संरचना प्रहरीलाई हस्तान्तरण गरेको हो।

संयोजक सुमन महतका अनुसार ११ सदस्यीय समितिले दुई सय जना स्थानीयवासी, व्यवसायी, संघसंस्था र समाजसेवीहरूबाट स्वस्फूर्त रूपमा संकलित ४९ लाख ५४ हजार ६८ रुपैयाँको सहयोगमा भवनको पुनःनिर्माण सम्पन्न गरेको थियो।

भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षाका लागि स्थानीयको योगदान प्रशंसनीय रहेको बताउँदै राम्रा र असल मानिसहरूको मौनताले खराब तत्वहरूलाई प्रोत्साहन दिने भएकाले सबैले मिलेर सकारात्मक काममा हातेमालो गर्नुपर्नेमा जोड दिए। उनले आन्दोलनमा ठूलो क्षति भएको स्मरण गर्दै अब रगत होइन, मेहनतको पसिना बगाउने समय आएको बताए।

एआईजी कार्कीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु दुःखद भएको उल्लेख गर्दै त्यस्तो कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन कुनै कमी हुन नहुनेमा जोड दिए। उनले प्रहरी प्रभागको भवन केवल संरचना मात्र नभई राज्यको प्रत्याभूति दिने प्रतीकात्मक स्थान भएको उल्लेख गर्दै प्रहरीले नागरिकको चाहना र आवश्यकता अनुरूप सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने बताए।

जिल्ला प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले पुनःनिर्माणमा मन, वचन र कर्मले साथ दिने सबैप्रति आभार व्यक्त गर्दै यो कार्य शान्तिपूर्ण र सभ्य समाज निर्माणतर्फको अमूल्य योगदान भएको बताए। उनका अनुसार प्रहरीका पदाधिकारीहरू समयसँगै परिवर्तन भए पनि भवन स्थायी सम्पत्ति भएकाले यसलाई स्थानीयले आफ्नै सम्पत्ति ठानी संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, आन्दोलनका क्रममा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याउन खोजीकार्य जारी रहेको जानकारी पनि दिए।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार आन्दोलनका क्रममा ललितपुर जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयहरूमा क्षति पुगेको थियो। पुल्चोक र हरिसिद्धिबाट केही हतियार समेत लुटिएको भए पनि ती अझैसम्म फेला नपरेको जानकारी उनले दिए।

आन्दोलनका क्रममा प्रहरीका लत्ताकपडा लुटिएकोले नेपाल महिला संघकी केन्द्रीय सदस्य निरु खड्काले प्रहरीलाई ५४ सेट ट्र्याकसुट लगायतका सामग्री हस्तान्तरण गरेकी थिइन्।

ललितपुर महानगरपालिका वडा नं. १८ का अध्यक्ष दामोदर खड्का, वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जन, वडा नं. २२ का अध्यक्ष सागर तुलाधर, वडा नं. २५ का अध्यक्ष दौलतकुमार खत्री, प्रगति युवा क्लब तथा स्थानीय विशिष्ट व्यक्तित्वहरूको सहकार्य र समन्वयका कारण पुनःनिर्माण कार्य छिटोछरितो रूपमा सम्पन्न भएको प्रहरी निरीक्षक शशीधर शर्माले जानकारी गराए।

images
प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - ०६:१७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology