Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लागूऔषध नियन्त्रणमा एकजुट हुन सरोकारवालाको जोड

लागूऔषध नियन्त्रणमा एकजुट हुन सरोकारवालाको जोड

दैनिकी न्यूज

२८, कार्तिक २०८२
लागूऔषध नियन्त्रणमा एकजुट हुन सरोकारवालाको जोड
images

ललितपुर । लागूऔषध दुरुपयोग समाजको क्यान्सरसरह भयावह समस्या बन्दै गइरहेका बेला यसको नियन्त्रणका लागि समाज, राष्ट्र र विश्वलाई नै लागूपदार्थमुक्त बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा तथा गोदावरी नगरपालिका–३ को सहकार्यमा शुक्रबार ललितपुरमा भएको ‘लागूऔषध न्युनिकरणमा पत्रकारको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले पत्रकारितालाई प्रभावकारी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरेले लागूऔषध समाजको प्रमुख शत्रु भएको उल्लेख गर्दै यसको कारोबार र सेवन दुवैलाई निरुत्साहित गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । “पत्रकार महासंघ ललितपुर शाखा र गोदावरी नगरपालिका–३ बीच समन्वयमा सकारात्मक रचनात्मक काम भइरहेको छ,” उनले भने, “देशमा विद्यालयभन्दा सुधार केन्द्र बढी खुल्ने अवस्था आउन नदिन लागूऔषधविरुद्ध पत्रकारिताबाट जनचेतना अभिवृद्धि गर्दै समाजलाई अगाडि बढाउन आवश्यक छ । यो विषय सामान्य जस्तो देखिए पनि अत्यन्त जटिल छ ।”

त्यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले लागूऔषध दुरुपयोगलाई समाजविरुद्धको अपराधका रूपमा चित्रण गर्दै यसको नियन्त्रण प्रत्येक नागरिकको सामाजिक दायित्व भएको बताए । उनका अनुसार परिवारमा अभिभावकले समय दिन नसक्नु, साथीहरूको गलत संगत तथा व्यस्त जीवनशैलीका कारण युवापुस्ता कुलतमा फस्ने गरेको छ । “लागूऔषधविरुद्धको अभियान हरेक घरबाट सुरु हुनुपर्छ,” उनले भने, “प्रत्येक व्यक्तिमा लागूऔषधप्रति वितृष्णा जगाउने गतिविधि आवश्यक छ । यसको नियन्त्रणका लागि सबैको संयुक्त पहल अपरिहार्य छ ।”

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जिप शुभचिन्तकले पत्रकारहरूले लागूऔषध दुरुपयोगविरुद्ध समाजलाई प्रभावकारी रूपमा सचेत बनाउन विशेष प्राथमिकताका साथ सामग्री प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले युवा लागूऔषधको चपेटामा पर्दा परिवार, समुदाय, समाज र राष्ट्रले ठूलो क्षति बेहोर्नुपरेको बताउँदै यसको न्यूनीकरणका लागि पत्रकारिताले राज्यलाई जिम्मेवार बनाउने तथा समाजलाई सचेत बनाउने अभियान निरन्तर चलाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले लागूऔषध दुरुपयोगको बढ्दो समस्यालाई रोक्न सबैको सहयोग, प्रभावकारी सूचना प्रवाह र सामुदायिक नेतृत्वको सक्रियता अपरिहार्य रहेको निष्कर्षसमेत निकालेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २८, २०८२ शुक्रवार - १८:४४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology