ललितपुर । बागमती प्रदेशअन्तर्गत रहेका सबै जनस्वास्थ्य कार्यालयबीचको वार्षिक मूल्याङ्कनमा जनस्वास्थ्य कार्यालय ललितपुर यस वर्ष पनि प्रदेशकै उत्कृष्ट घोषित भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा कात्तिक ३० गतेदेखि मङ्सिर २ गतेसम्म हेटौँडामा सम्पन्न वार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रममा ललितपुरलाई उत्कृष्टको सम्मान प्रदान गरिएको हो।
कार्यालयले सेवा–सुविधा, कार्यसम्पादन तथा विभिन्न शीर्षकमा गरिएको समग्र मूल्याङ्कनमा कुल १०० मध्ये ७१.५९ अंक प्राप्त गरेको थियो। यससँगै धादिङ ७०.८६ अंकसहित दोस्रो र काभ्रेपलाञ्चोक ७०.६४ अंकसहित तेस्रो स्थानमा रहेकी जनस्वास्थ्य कार्यालय ललितपुरकी तथ्याङ्क अधिकृत दिपा पाण्डेले जानकारी दिइन्। गतवर्ष पनि ललितपुरले यस्तै उत्कृष्टता कायम गरेको थियो। दुवै अवधि कार्यालयको नेतृत्व डा. भुवन पौडेलले गरेका थिए ।

त्यस्तै प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालहरूको मूल्याङ्कनमा भक्तपुर अस्पताल यस वर्ष प्रदेशको उत्कृष्ट अस्पताल घोषित भएको छ। अस्पतालले सेवा–सुविधा र समग्र कार्यसम्पादनका आधारमा १०० मध्ये ७१.१० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। यस क्षेत्रमा त्रिशुली अस्पताल ७०.७२ अंकसहित दोस्रो र चौतारी अस्पताल तेस्रो स्थानमा रहेका छन्।
आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा सेवाको मूल्याङ्कनमा सिन्धुली शीर्षस्थानमा उत्रिएको छ। उक्त चिकित्सालयले ७२.६० अंक प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो। त्यस्तै मकवानपुर ७०.१० अंकसहित दोस्रो र चितवन तेस्रो स्थानमा रहे ।
उत्कृष्ट ठहरिएका जनस्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेदिक चिकित्सालयका प्रतिनिधिहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा तथा स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरे।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँ र स्वास्थ्यमन्त्री थापाले प्रदेशको स्वास्थ्य क्षेत्र समग्र सुधारतर्फ सरकार सक्रिय रूपमा अघि बढिरहेको बताए। हालै प्रदेश सभाबाट पारित स्वास्थ्य ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समस्याहरू समाधानतर्फ सरकार गम्भीर रहेको पनि उनीहरूको भनाइ थियो।
उनीहरूले स्वास्थ्य सेवाप्रति नागरिकका गुनासो हटाउन तथा गुणस्तरीय सेवा–सुविधा सुनिश्चित गर्न स्वास्थ्यकर्मीहरूको समर्पित भूमिकाको आवश्यकता रहेको उल्लेख गर्दै सेवाभावपूर्वक काम गर्न आग्रह गरे ।