काठमाडौँ । आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक युवक काठमाडौँबाट पक्राउ परेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितलाई लामो समयसम्म विदेश पठाइदिन्छु भन्ने आश्वासन दिएर झुक्यानमा पारी सम्पर्कविहीन बनेपछि दर्ता भएको जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्ति काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका–९ का २० वर्षीय आसमान बिक रहेका छन्। उनी हाल ललितपुर महानगरपालिका–३ मा बस्दै आएका थिए। उनले पीडितबाट रु. ६ लाख लिएको र विदेश नपठाई निरन्तर छलकपट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीलाई बिहीबार काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा बुझाइएको हो।
प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार युवायुवतीलाई विदेश रोजगारीका नाममा ठगी गर्ने प्रकारका गतिविधि बढ्दै गइसकेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।