ललितपुर । सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी, हातमा माइक, र अगाडि उभिएका छन्— लङकोट र बुट लगाएका एक अग्ला कदका व्यक्ति। उनी कुनै औपचारिक मञ्चमा होइनन्, न त झिलिमिली ब्यानर र नाराले सजिएको चुनावी सभामै। उनी छन्— जनताको घरदैलोमा, बस्तीभित्र, जनताकै माझमा । धरानका नगर प्रमुख हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको चुनावी यात्राजस्तै, दक्षिण ललितपुरमा अहिले उस्तै शैलीमा देखिन थालेका छन्— सनोज महत।

धरानमा हर्क साङपाङले अपनाएको ‘एक्लो तर जनमुखी’ राजनीति अभियानले धेरैलाई चकित बनाएको थियो। माइक बोकेर, टेम्पो चढेर, आफ्नै आवाजमा आफ्नै कुरा राख्दै उनी चुनाव आफ्नो पक्षमा राख्न सफल भए। अहिले त्यही शैली ललितपुरको गोदावरी नगरपालिकामा देखिन थालेको छ। यहाँका स्थानीय नेता, समाजसेवी तथा नगरिक अगुवा सनोज महतले पनि त्यही बाटो रोजेका छन्—जनतासँगै बस्ने, जनतको कुरा सुन्ने र प्रश्न गर्ने राजनीति।
बस्ती–बस्ती पुग्ने अभियान
महत हाल दक्षिण ललितपुर केन्द्रित अभियानमा छन्। उनी कुनै ठूला सभा वा नेताको भाषणमा सीमित छैनन्। उनी बस्ती पस्छन्, स्थानीयसँग संवाद गर्छन्, पर्चा बाँड्छन्, स्थानीय जनताका कुरा सुन्छन् र सार्वजनिक स्थानमै बसेर आफ्ना कुरा राख्छन्। बुधबार र बिहीबार उनी गोदावरी नगरपालिका वडा नं. १, गोदामचौरमा भेटिए। वडा कार्यालय नजिकै सार्वजनिक जग्गामा टेन्ट गाडेर बसेका महतले माइकमार्फत आफ्ना विचार सुनाए। वरपर भेला भएका स्थानीयसँग अन्तरक्रिया गरे, उनीहरूको गुनासो पनि सुने।
उनको अभियान केवल भाषणमा सीमित छैन। उनी हरेक वडामा २४ घण्टा बस्ने योजना बनाएको सुनाउँछन्। ललितपुर क्षेत्र नं. १ अन्तर्गत पर्ने चार पालिकाका ३० वटै वडामा पुग्ने योजना बनाएका छन् । “वडा कार्यालय नजिकै रहेको सार्वजनिक जग्गामा टेन्ट हालेर रात पनि त्यहीँ बिताउँछु,” उनी भन्छन्, “जनताले कस्तो समस्या भोगिरहेका छन्, प्रत्यक्ष देख्न र बुझ्न चाहन्छु।”
विद्यालयदेखि स्थानीय सरकारसम्म प्रश्न
महतको अभियानको एउटा मुख्य केन्द्रविन्दु बनेको छ, सामुदायिक विद्यालयमा देखिएका विकृति। पिपुल्स फस्ट पार्टीको नाममा भइरहेको यो अभियानमा उनले विद्यालयको व्यवस्थापन समिति गठन, प्रधानाध्यापकको नियुक्ति, पारदर्शिता र गुणस्तरमाथि प्रश्न उठाएका छन्। राजनीतिक दल र नेतृत्वले वर्षौंदेखि गरेको कामको आलोचना गर्दै उनी भन्छन्, “जनताको नाममा बजेट आउँछ, तर परिणाम कहाँ छ ?”
उनले विद्यालयमा अनियमितता देखिए सूचनाको हक प्रयोग गरेर कागजात माग्ने र सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्। “फण्डाफोर गर्छु,” उनी स्पष्ट शब्दमा भन्छन्, “यो राजनीति होइन, यो जनताको अधिकारको कुरा हो, यसमा नागरिक जानकार हुनुपर्छ, यो मैलिक हक पनि हो।”
‘निर्वाचनका लागि मात्र होइन’
आगामी फागुन २१ गते संघीय निर्वाचन घोषणा भएको सन्दर्भमा महतको सक्रियतालाई धेरैले चुनावी तयारीका रूपमा हेरेका छन्। तर उनी स्वयं भने त्यसलाई अस्वीकार गर्छन्। “निर्वाचन होला न होला, मलाई थाहा छैन,” उनी भन्छन्, “तर म आफ्ना कुरा जनतामा पुर्याउन चाहन्छु। यो अभियान चुनावका लागि मात्र होइन।”
उनका अनुसार उनले लामो समय राजनीति गरे। अब भने ३० दिन जनतासँगै बस्दै उनीहरूका दुःख–सुख बुझ्न चाहन्छन्। “लामो समय जनताका लागि राजनीति गरेँ,” उनी भन्छन्, “अब ३० दिन जनतासँग भिज्न निस्केको हुँ।”
नयाँ शैली, पुरानो प्रश्न
धरानका हर्क साङपाङले देखाएको बाटो संयोग मात्र होइन, सम्भावना पनि हो। त्यही सम्भावनाको छायाँमा ललितपुरका सनोज महत अघि बढिरहेका छन्। प्रश्न एउटै छ ‘के यो शैलीले दक्षिण ललितपुरमा पनि उस्तै प्रभाव छोड्न सक्छ ? यसको उत्तर भने अब जनताले नै दिनेछन्।