Logo

आइतवार, श्रावण २४ गते २०८३

images

होम सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

होम सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

दैनिकी न्यूज

१, माघ २०८२
होम सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
images

ललितपुर । होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा बुधबार ललितपुरमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा आर्थिक चुनौतीबारे गहन छलफल गरिएको छ ।

संस्थाका अध्यक्ष मुकुन्द महर्जनको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे सदस्यहरूलाई जानकारी गराएका थिए । प्रतिवेदनमा संस्थाले आर्थिक अनुशासन कायम राख्दै सदस्य केन्द्रित सेवा विस्तारमा जोड दिएको उल्लेख गरिएको छ ।

अध्यक्ष महर्जनका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा संस्थाको कुल कारोबार ६ करोड २९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको शेयर पूँजी ४१ लाख ४९ हजार रुपैयाँ, कर्जा लगानी २ करोड ९६ लाख रुपैयाँ रहेको जानकारी सभामा दिइएको थियो ।

home.jpeg

२०६५ सालमा स्थापना भएको होम बचत तथा ऋण सहकारी संस्था सहकारी ऐन, नियमावली तथा सहकारीका मूल्य–मान्यताअनुसार सञ्चालन हुँदै आएको छ । “समुन्नत भविष्यका लागि बचत गर्ने बानी बसालौँ” भन्ने नारासहित स्थापना भएको संस्थाले १७ वर्षको अवधिमा विभिन्न अनुभव र उपलब्धि हासिल गरेको अध्यक्ष महर्जनले बताए । उनका अनुसार संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हाल संस्थामा ५९४ जना सेयर सदस्य आबद्ध रहेका छन् । साधारण सभामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम तथा योजना प्रस्तुत गरी अनुमोदन समेत गरिएको छ ।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार देशको वित्तीय क्षेत्रमा देखिएको सुस्तता, राजनीतिक अस्थिरता तथा व्यापार–व्यवसायमा आएको असरका कारण बैंक, वित्तीय संस्था तथा सहकारी क्षेत्रमा कर्जा मागमा कमी आएको छ । तरलता वृद्धि भए पनि कर्जा लगानी र असुली चुनौतीपूर्ण बन्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो अवसरमा संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक भुपेन्द्रमान बज्राचार्यले लेखा व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले हाल कर्जा लगानीमा केही कमी आएको देखिए पनि संस्थाको हरहिसाब चुस्त र दुरुस्त रहेको जानकारी दिए ।

साधारण सभाले संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

images
प्रकाशित मिति :माघ १, २०८२ बिहिवार - ०७:३२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology