ललितपुर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ललितपुर जिल्लामा निर्वाचन अधिकृतका तीन वटा कार्यालय स्थापना गरिएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा निर्वाचन क्षेत्र नं. ३ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा सञ्चालनमा ल्याइएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ का लागि सातदोबाटो स्थित ओलम्पिक कमिटिको भवन र क्षेत्र नं. १ का लागि चापागाउँस्थित गोदावरी नगरपालिकाको भवनमा स्थापना गरिएको हो ।
निर्वाचन क्षेत्र नं. ३ को मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी ललितपुर जिल्ला न्यायाधीश पुनाराम खनालले सम्हालेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका उपरजिष्ट्रार सम्झना सिम्खडा पुडासैनी र निर्वाचन क्षेत्र नं. १ को निर्वाचित अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार इशा सुवेदीले सम्हालेका छन् ।

मुख्य निर्वाचत अधिकृत खनालका अनुसार निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष, सभ्य र सहज ढङ्गले सम्पन्न गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको हो । उनले निर्वाचन आयोग नेपालअन्तर्गत स्थापना गरिएको उक्त कार्यालयबाट निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी कामकारबाही सुरु गरिएको मुख्य निर्वाचन अधिकृत खनालले बताए ।
निर्वाचन कार्यालयले आगामी दिनहरूमा मनोनयन, दर्ता, प्रचार–प्रसार व्यवस्थापन, उजुरी÷गुनासो व्यवस्थापन तथा निर्वाचनसँग सम्बन्धित अन्य सम्पूर्ण कार्यहरू यही कार्यालयमार्फत अगाडि बढाउने जनाएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, ललितपुर प्रहरी प्रमुख होबिन्द बोगटी, शशस्त्र प्रहरी प्रमुख राजेश लामिछाने, जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख गोमा धमलालगायतको उपस्थिति रहेको थियो ।