काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी आवश्यक सबै तयारी पूरा भएको जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै तडकभडक नगरी शान्त, सभ्य र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।
उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य छ । साथै, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्नेछ । नेपाल सरकार, प्रदेश वा स्थानीय तह तथा तिनको स्वामित्व वा नियन्त्रणमा रहेका वा अनुदान प्राप्त संस्थामा बहाल उम्मेदवारले पदबाट राजीनामा दिएको प्रमाण पनि पेस गर्नुपर्ने व्यवस्था छ ।
मनोनयनपत्र दर्ता गर्दा सोही निर्वाचन क्षेत्रका अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र सहिछाप आवश्यक हुनेछ । दलको तर्फबाट उम्मेदवारी दिएको हकमा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको निकायले प्रदान गरेको औपचारिक मनोनयनपत्र पेस गर्नुपर्नेछ । संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका उम्मेदवारले निर्वाचन निर्देशिकाअनुसारको औपचारिक पत्र पनि उपलब्ध गराउनुपर्नेछ ।
उम्मेदवारले रु १० हजार धरौटी जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ । महिला, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई सो धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ ।
यसैगरी, स्वघोषणा पत्र, सिलबन्दी रूपमा सम्पत्ति विवरण, वैयक्तिक विवरण फाराम, पेस्की फर्छ्योट र बेरुजु फर्छ्योटसम्बन्धी निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यी सबै कागजात पूरा भएका उम्मेदवारको मात्र मनोनयन दर्ता हुनेछ ।