Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रौतहट–४ बाट उम्मेदवारी दिँदै पत्रकार ऋषि धमला

रौतहट–४ बाट उम्मेदवारी दिँदै पत्रकार ऋषि धमला

दैनिकी न्यूज

६, माघ २०८२
रौतहट–४ बाट उम्मेदवारी दिँदै पत्रकार ऋषि धमला
images

काठमाडौँ । लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिन लागेका हुन् ।

धमलाले आम जनता पार्टीको तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेको जानकारी उनकी पत्नी एलिजा गौतमले सार्वजनिक गरेकी छन् । गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गर्दै धमलाले मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको उल्लेख गरेकी हुन् ।

पत्रकारिताको क्षेत्रमा लामो अनुभव बटुलेका धमला पछिल्लो समय सामाजिक तथा राजनीतिक विषयमा खुला बहस र प्रश्नोत्तर (जनता जान्न चाहन्भछन्) मार्फत परिचित नाम हुन् । टेलिभिजन कार्यक्रममार्फत आम जनताको आवाज उठाउँदै आएका उनले अब प्रत्यक्ष राजनीतिक मैदानमा उत्रिने निर्णय गरेका हुन् ।

रौतहट–४ बाट उम्मेदवारी दिने निर्णयसँगै धमलाले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । उनले पत्रकारितामा रहँदा देखेका समस्या, सुनेका गुनासा र अनुभूत गरेका जनभावनालाई अब संसद्मार्फत सम्बोधन गर्ने उद्देश्य राखेको बताइन्छ ।

आम जनता पार्टीले यसपटक वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने रणनीतिअनुसार विभिन्न क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । सोही क्रममा धमलालाई रौतहट–४ बाट उम्मेदवार बनाइएको पार्टी स्रोतको भनाइ छ ।

धमलाको उम्मेदवारी घोषणासँगै रौतहट–४ को राजनीतिक समीकरण थप रोचक बन्ने देखिएको छ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका धमलाले कस्तो जनसमर्थन प्राप्त गर्छन् भन्ने विषयलाई धेरैले चासोका साथ हेरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा धमलाले चाँडै नै चुनावी कार्यक्रम र प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।

images
प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - १०:०८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology