Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर–१ मा चुनावी सरगर्मी, सत्तारूढदेखि वैकल्पिक दलसम्म

ललितपुर–१ मा चुनावी सरगर्मी, सत्तारूढदेखि वैकल्पिक दलसम्म

दैनिकी न्यूज

६, माघ २०८२
ललितपुर–१ मा चुनावी सरगर्मी, सत्तारूढदेखि वैकल्पिक दलसम्म
images

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा ललितपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दै गएको छ । मुख्य राजनीतिक दलहरूले आ–आफ्ना उम्मेदवार टुंग्याइसकेका छन् भने नयाँ र साना दलहरू पनि मैदानमा उत्रिँदा यस क्षेत्रको प्रतिस्पर्धा चासोको विषय बनेको छ ।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उदयशमशेर राणाले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक पनि राणाले पुनः उम्मेदवारी पाउँदा एमालेले भने नयाँ अनुहार अघि सारेको छ ।

कांग्रेसको भरोसा फेरि राणामाथि
नेपाली कांग्रेसले भर्खरै सम्पन्न विशेष महाधिवेशनबाट उपमहामन्त्रीमा निर्वाचित उदयशमशेर राणालाई यसपटक पनि ललितपुर–१ बाट उम्मेदवार बनाएको छ । उनी लगातार चौथोपटक यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

२०७९ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसहितको गठबन्धनको समर्थनमा राणाले २३ हजार ८९२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नवराज सिलवालले १९ हजार २७८ मत पाएका थिए ।

राणा यसअघि यही क्षेत्रबाट दुईपटक विजयी भएका छन् भने दुईपटक पराजय बेहोरेका छन् । कांग्रेसभित्र अनुभवी र संगठनात्मक रूपमा बलियो उम्मेदवारका रूपमा उनलाई हेरिएको छ ।

एमालेबाट संजेल
नेकपा (एमाले) ले यसपटक उम्मेदवार परिवर्तन गर्दै चेतनाथ संजेललाई ललितपुर–१ बाट अघि सारेको छ । संजेल २०७४ सालको निर्वाचनमा ललितपुर क्षेत्र नं. १ (ख) बाट वाग्मती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

तर २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका मीनकृष्ण महर्जनसँग पराजित भएका थिए । उक्त निर्वाचनमा मीनकृष्ण महर्जनले १३ हजार ३७८ मत ल्याउँदा संजेलले नौ हजार १६४ मतमा चित्त बुझाउनुपरेको थियो । एमालेले यसपटक संगठन विस्तार र मताधार मजबुत बनाउँदै कांग्रेसलाई चुनौती दिने रणनीति बनाएको देखिन्छ ।

रास्वपाबाट बुद्धरत्न महर्जन, स्थानीय असन्तुष्टि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुद्धरत्न महर्जनलाई ललितपुर–१ बाट उम्मेदवार बनाएको छ । उनी मूलतः ललितपुर निर्वाचन क्षेत्र नं. २ का स्थानीय हुन् ।

क्षेत्र नं. २ मा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले टिकट पाएपछि महर्जनलाई क्षेत्र नं. १ मा उम्मेदवार बनाइएको बताइन्छ । यही कारण क्षेत्र नं. १ मा उनको उम्मेदवारीप्रति असन्तुष्टि र विरोधसमेत देखिएको जनाइएको छ । यसअघि सुरेन्द्र बजगाईं रास्वपाबाट उम्मेदवार बन्ने चर्चा चलेको थियो ।

२०७९ सालको निर्वाचनमा रास्वपाले सचिनकुमार घिमिरेलाई उम्मेदवार बनाएको थियो । घिमिरेले उक्त चुनावमा तीन हजार २७७ मत प्राप्त गरेका थिए ।

नेकपाबाट महर्जन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनील महर्जनलाई ललितपुर–१ बाट उम्मेदवार बनाएको छ । उनी पूर्वमाओवादी पृष्ठभूमिका नेता भने होइनन् । पार्टी एकीकरणपछि उनी नेकपामा आबद्ध भएका हुन् । महर्जनले टिकट पाएसँगै पार्टीभित्रका पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू असन्तुष्ट बनेका छन् । उनी धेरै चर्चित राजनीतिक व्यक्तित्व नभएकाले चुनावी प्रभाव कति पर्ने भन्नेमा समेत प्रश्न उठिरहेका छन् ।

राप्रपा र अन्य दलको पनि उपस्थिति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट सजिना कार्कीलाई उम्मेदवार तय गरेको छ । त्यस्तै, नागरिक पहिलो पार्टीबाट लेलेका सनोज महर्जन उम्मेदवार बन्ने भएका छन् । उज्यालो नेपालबाट राजु आले मगरले टिकट पाए उम्मेदवारी दिने बताएका छन् ।

कसिलो प्रतिस्पर्धाको संकेत
मुख्य दलहरूको बलियो उपस्थिति, नयाँ दलको वैकल्पिक दाबी र साना दलहरूको सहभागिताले ललितपुर निर्वाचन क्षेत्र नं. १ मा यसपटकको चुनाव प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । अब मतदाताको निर्णयले कसको राजनीतिक पकड बलियो छ भन्ने स्पष्ट गर्नेछ ।

images
प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - १०:२९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology