ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार सार्वजनिक गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ ।
ललितपुर राजनीतिक रूपमा संवेदनशील र प्रतिस्पर्धात्मक जिल्ला मानिन्छ । अघिल्ला निर्वाचनमा फरक–फरक दलले जित हासिल गरेका कारण यसपटक पनि तीनै क्षेत्रमा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
कांग्रेसका तीनै क्षेत्रमा पुरानै अनुहार
नेपाली कांग्रेस ललितपुरका सचिव वशिष्ट अधिकारीका अनुसार कांग्रेसले तीनै निर्वाचन क्षेत्रमा अनुभवी उम्मेदवारलाई निरन्तरता दिएको छ ।
निर्वाचन क्षेत्र नं. १ मा उदयशमशेर राणा, निर्वाचन क्षेत्र नं. २ मा प्रेमकृष्ण महर्जन र निर्वाचन क्षेत्र नं. ३ मा जितेन्द्रकुमार श्रेष्ठ उम्मेदवार रहेका छन् ।
क्षेत्र नं. १ मा राणा वर्तमान सांसदसमेत हुन् भने क्षेत्र नं. २ र ३ मा कांग्रेसले आफ्नो संगठनात्मक पकड बलियो बनाउने रणनीतिसहित उम्मेदवार अघि सारेको देखिन्छ ।
यी हुन् एमालेका उम्मेदवार
नेकपा (एमाले) ले यसपटक ललितपुरका तीनै क्षेत्रमा नयाँ रणनीतिका साथ उम्मेदवार चयन गरेको छ । एमालेबाट निर्वाचन क्षेत्र नं. १ मा चेतनाथ सञ्जेल, निर्वाचन क्षेत्र नं. २ मा प्रेमबहादुर महर्जन, निर्वाचन क्षेत्र नं. ३ मा सन्दन थापा मगर उम्मेदवार बनेका छन् । २०७९ सालको .निर्वाचनमा क्षेत्र नं. २ बाट प्रेम बहादुर महर्जन विजयी भएका थिए । एमालेले अघिल्लो निर्वाचनमा गुमाएका क्षेत्र पुनः जित्ने लक्ष्यसहित संगठन सुदृढीकरणमा जोड दिएको बताइएको छ ।
रास्वपाबाट चर्चित र नयाँ अनुहार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि ललितपुरका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । रास्वपाबाट निर्वाचन क्षेत्र नं १ मा बुद्धरत्न महर्जन, निर्वाचन क्षेत्र नं( २ मा जगदीश खरेल र निर्वाचन क्षेत्र नं. ३ मा तोषिमा कार्की उम्मेदवार रहेका छन् । विशेषगरी क्षेत्र नं. ३ बाट तोषिमा कार्की पुनः उम्मेदवार बनेकी छन् । उनी २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । खरेल नेपाल सरकारका निवर्तमान सूचना तथा प्रविधि मन्त्री हुन ।
नेकपाले पनि तीनै क्षेत्रमा उम्मेदवार चयन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि ललितपुरका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । नेकपाबाट निर्वाचन क्षेत्र नं. १ मा सुनील महर्जन, निर्वाचन क्षेत्र नं. २ मा राजेन्द्र अमात्य र निर्वाचन क्षेत्र नं. ३ मा राजकाजी महर्जन उम्मेदवार चयन भएका छन् ।
अघिल्लो निर्वाचनको नतिजा
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–१ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा, ललितपुर–२ बाट नेकपा (एमाले) का प्रेमबहादुर महर्जन र
ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोषिमा कार्की विजयी भएका थिए ।
चुनावी माहोल तातिँदै
मुख्य दलहरूले उम्मेदवार टुंग्याएसँगै ललितपुरमा चुनावी गतिविधि तीव्र बन्दै जाने देखिएको छ । अघिल्लो निर्वाचनमा फरक–फरक दलले जितेका कारण यसपटक तीनै क्षेत्रमा प्रतिस्पर्धा झनै रोचक हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ । अब मतदाता केन्द्रित अभियान, गठबन्धनको समीकरण र स्थानीय मुद्दाले ललितपुरको चुनावी नतिजा तय गर्नेछ ।