ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका तर्फबाट तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।
जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार ललितपुर क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रमा पुरुष उम्मेदवारको संख्या २५ रहेको छ भने तीन जना महिला उम्मेदवार छन्। उम्मेदवारको संख्याले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने संकेत देखिएको छ।
ललितपुर क्षेत्र नम्बर २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कुल उम्मेदवारमध्ये सात जना स्वतन्त्र उम्मेदवार हुन् भने १६ जना विभिन्न राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका छन्। यस क्षेत्रमा दुई जना महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारको उपस्थिति रहेकाले यहाँ पनि बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
त्यस्तै, ललितपुर क्षेत्र नम्बर ३ मा पनि २३ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रमा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्, जसले महिला सहभागिता अघिल्ला क्षेत्रको तुलनामा केही बढेको देखाएको छ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। कांग्रेसबाट उदय शमशेर राणा, एमालेबाट चेतनाथ सञ्जेल, रास्वपाबाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिस्ट पार्टीबाट सुनिल महर्जन उम्मेदवार बनेका छन्। उनीहरूबीचको प्रतिस्पर्धालाई स्थानीय मतदाताले चासोका साथ हेरिरहेका छन्।
यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपाकी डा. तोसिमा कार्की, नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ, एमालेबाट सन्दन थापा मगर र नेपाल कम्युनिस्ट पार्टीका राजकाजी महर्जन चुनावी मैदानमा उत्रिएका छन्। शिक्षित मतदाता र शहरी क्षेत्र बढी रहेको यस निर्वाचन क्षेत्रमा नीति, विकास र सुशासनका मुद्दा मुख्य बन्ने अपेक्षा गरिएको छ।
ललितपुर क्षेत्र नम्बर २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलसहित नेपाल कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्य, एमालेबाट प्रेमबहादुर महर्जन र नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनउम्मेदवार बनेका छन्। यस क्षेत्रमा पनि प्रमुख दलका उम्मेदवारसँगै अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र चुनाव चिन्ह वितरणपछि ललितपुरमा चुनावी गतिविधि थप तीव्र हुने अनुमान गरिएको छ।