ललितपुर । आन्तरिक गुट–उपगुटका कारण लामो समयदेखि चिसिएको ललितपुर कांग्रेसको राजनीतिमा शुक्रबार एक महत्वपूर्ण भेटवार्ताले नयाँ सन्देश दिएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका ललितपुर निर्वाचन क्षेत्र नं. १ का उदयशम्शेर राणा, क्षेत्र नं. २ का प्रेमकृष्ण महर्जन र क्षेत्र नं. ३ का जितेन्द्रकुमार श्रेष्ठले नेपाली कांग्रेस ललितपुरका नेता, पूर्वसांसद, पूर्वजिल्ला सभापति तथा निवर्तमान केन्द्रीय सदस्य मदनबहादुर अमात्यसँग भेटवार्ता गरेका छन्।
ललितपुर कांग्रेसका ‘अभिभावक’ मानिने अमात्यसँग भएको यो भेटलाई जिल्लाको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। लामो समयदेखि आन्तरिक द्वन्द्व र गुटीय प्रतिस्पर्धाले कमजोर बन्दै गएको कांग्रेस संगठनलाई एकताबद्ध गर्न यो भेटले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

भेटका क्रममा नेता अमात्यले तीनै उम्मेदवारलाई आशीर्वाद दिँदै आगामी निर्वाचनमा विजयको शुभकामना दिएका छन्। कांग्रेस स्रोतका अनुसार अमात्यको आशीर्वादसँगै पार्टी नेता तथा कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस पंक्तिमा देखिएको यो सकारात्मक माहोललाई महत्वपूर्ण संकेतका रूपमा लिइएको छ।

जिल्ला सभापतिसमेत भइसकेका अमात्य निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा निकट नेताका रूपमा चिनिन्छन्। यता, पुस महिनामा सम्पन्न विशेष महाधिवेशनमा उदयशम्शेर राणाको टोलीले गगनकुमार थापाको पक्षपोषण गर्दै सहमहामन्त्री जस्तो प्रभावशाली जिम्मेवारी हासिल गरेपछि ललितपुर कांग्रेसभित्र राणाको प्रभाव झनै बलियो बनेको छ। अमात्य स्वयं पनि ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवारीका आकांक्षी थिए, जसका कारण यो भेटलाई राजनीतिक समन्वय र समझदारीको संकेतका रूपमा समेत हेरिएको छ।
कांग्रेस नेताहरूबीचको यो भेटवार्ताले जिल्लाको राजनीतिमा नयाँ तरंग ल्याएको छ। लामो समयदेखि देखिँदै आएको आन्तरिक असमझदारीभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध गर्ने प्रयासका रूपमा यसलाई लिइएको छ।

ललितपुर क्षेत्र नं. १ मा राणा परिवारको निरन्तर राजनीतिक उपस्थिति रहँदै आएको छ। सागर शम्शेर राणापछि २०६४ सालदेखि उदयशम्शेर राणा सक्रिय राजनीतिमा आएका हुन्। २०७४ सालको निर्वाचनमा उनी नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) को गठबन्धनका उम्मेदवार नवराज सिलवालसँग पराजित भए पनि यसपटक पुनः बलियो दाबेदारका रूपमा मैदानमा उत्रिएका छन्। राणा निवर्तमान सांसद पनि हुन् । उनले २०७९ को निर्वाचनमा एमालेका उम्मेदवार सिलवाललाई भारी मतका साथ पराजित गरेका थिए । उनी कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार थिए ।
भेटपछि राणाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश पनि सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, “नेपाली कांग्रेसका नेता हाम्रा अभिभावक आदरणीय मदनबहादुर अमात्यज्यूसँग आज भेटघाट गरेका छौं। हामी तीनै जना उम्मेदवारहरूलाई उहाँले आशीर्वाद दिँदै विजयको लागि शुभकामना दिनु भएको छ। आदरणीय दाइप्रति हार्दिक सम्मानसहित आभार व्यक्त गर्दछु। जय नेपाल।”
यो भेटवार्तालाई केवल औपचारिक शिष्टाचारमा सीमित नभई, ललितपुर कांग्रेसलाई एक ढिक्का बनाएर निर्वाचनमा अघि बढ्ने प्रयासका रूपमा हेरिएको छ। आन्तरिक मतभेदका बीच देखिएको यो एकताको संकेतले आगामी दिनमा कांग्रेसको चुनावी यात्रालाई कति बलियो बनाउने हो, त्यसतर्फ सबैको चासो केन्द्रित भएको छ।