Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नक्कली हतियार देखाएर समाजमा आतंक फैलाउने युवक पक्राउ

नक्कली हतियार देखाएर समाजमा आतंक फैलाउने युवक पक्राउ

दैनिकी न्यूज

११, माघ २०८२
नक्कली हतियार देखाएर समाजमा आतंक फैलाउने युवक पक्राउ
images

ललितपुर । नक्कली हतियार देखाई समाजमा आतंक फैलाइरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्राप्त गोप्य सूचनाका आधारमा माघ १० गते दिउँसो ललितपुर महानगरपालिका वडा नं. १४ स्थित चापागाउँ दोबाटोबाट सातदोबाटोतर्फ नम्बरसहित नखुलेको मोटरसाइकलमा हतियार बोकेर गएको व्यक्ति रहेको जानकारी पाएपछि प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थितमा लुकिछिपी राखिएको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको साथबाट लामो हतियार ३०३ राइफलजस्तो देखिने डमी १ थान, सानो हतियार कटुवा पेस्तोलजस्तो देखिने डमी २ थान, फोमबाट बनेको खुकुरीजस्तो देखिने २ थान तथा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति झापा जिल्ला, अर्जुनधारा नगरपालिका वडा नं. ७ कटरडाँडा स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ मा बसोबास गर्दै आएका २८ वर्षीय किरण घिमिरे रहेका छन्।

घटनापछि उनलाई ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप अनुमति लिई अभद्र व्यवहार गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार नक्कली हतियार भए पनि त्यसको प्रयोगले सर्वसाधारणमा त्रास फैलिन सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी र कारबाही गरिनेछ।

images
प्रकाशित मिति :माघ ११, २०८२ आइतवार - २०:२७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology