Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर–२ मा एमालेभित्रको असन्तोष सतहमा, बज्रचार्यको बागी उम्मेदवारी

ललितपुर–२ मा एमालेभित्रको असन्तोष सतहमा, बज्रचार्यको बागी उम्मेदवारी

दैनिकी न्यूज

१४, माघ २०८२
ललितपुर–२ मा एमालेभित्रको असन्तोष सतहमा, बज्रचार्यको बागी उम्मेदवारी
images

ललितपुर । चुनाव नजिकिँदै जाँदा ललितपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले) भित्रको असन्तोष खुला रूपमा सतहमा आएको छ। प्रतिनिधि सभा सदस्यका लागि एमालेका आधिकारिक उम्मेदवार प्रेमबहादुर महर्जनकै विरुद्ध बागी उम्मेदवारी परेपछि पार्टी पंक्तिमा तरङ्ग पैदा भएको छ।

निवर्तमान सांसद महर्जनको साढे तीन वर्षे कार्यकालप्रति असन्तुष्टि जनाउँदै बाबुराज बज्राचार्यले बागी उम्मेदवारी दिएका हुन्। पार्टीभित्र लामो समयदेखि दबिएर बसेको असन्तोष अब चुनावी मैदानमै प्रकट भएको विश्लेषण गरिँदैछ।

कामप्रति असन्तुष्टि
बज्राचार्य निकट नेताहरूका अनुसार निवर्तमान सांसद महर्जनको कार्यकालमा ललितपुर–२ ले अपेक्षाअनुसारको विकास र प्रभावकारी प्रतिनिधित्व पाउन सकेन। जनताका समस्या संसदसम्म प्रभावकारी रूपमा नपुगेको र निर्वाचन क्षेत्रप्रति आवश्यक ध्यान नदिइएको आरोप उनीहरूको छ।

“साढे तीन वर्षे कार्यकालमा देखिने गरी एउटा पनि उल्लेखनीय काम भएन भन्ने आम धारणा बन्यो,” बज्राचार्य निकट एक नेताले बताए। यही असन्तुष्टिले उनलाई बागी उम्मेदवारी दिन बाध्य बनाएको उनीहरूको दाबी छ।

दबाब ठाडो रूपमा अस्वीकार
बागी उम्मेदवारी फिर्ता गराउन एमाले नेतृत्वले प्रयास नगरेको भने होइन। निवर्तमान सांसद महर्जन र पूर्व बागमती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्य स्वयं बज्राचार्यको घरमै पुगेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

तर त्यो आग्रह दबाबका रूपमा आएको भन्दै बज्राचार्यले स्पष्ट शब्दमा अस्वीकार गरेको उनी निकट नेताहरू बताउँछन्। “उम्मेदवारी फिर्ता लिनुहोस् भन्ने प्रस्ताव ठाडै अस्वीकार गरियो,” ती नेताले दैनिकीन्युजसँग भने।

एकलौटी निर्णयविरुद्धको विद्रोह
पार्टीभित्र उम्मेदवारी छनोटदेखि स्थानीय गतिविधिसम्म एकलौटी ढंगले निर्णय हुँदै आएको आरोप पनि बज्राचार्य पक्षले लगाएको छ। पार्टीभित्र आवाज उठाउँदा पनि सुनुवाइ नहुँदा अन्ततः बागी उम्मेदवारी नै अन्तिम विकल्प बनेको उनीहरूको भनाइ छ।

२०७९ सालको निर्वाचनअघि बाबुराज बज्राचार्य र सरोज डंगोलसहित ठूलो दलबल सहित एमाले प्रवेश गरेका थिए। पार्टी प्रवेशपछि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा भए पनि त्यो सम्भव नभएको अनुभूति नै अहिलेको विद्रोहको जरो बनेको देखिन्छ।

एमालेभित्र तरङ्ग, चुनावी गणित फेरिने संकेत
बागी उम्मेदवारीसँगै ललितपुर–२ मा एमालेभित्र गहिरो तरङ्ग पैदा भएको छ। यसले पार्टीलाई कमजोर बनाउने र मत विभाजन गराउने आशंका स्वयं एमाले पंक्तिभित्रै व्यक्त हुन थालेको छ।

स्थानीय नेता–कार्यकर्ताबीच अन्योल छ । पार्टी अनुशासन रोज्ने कि असन्तुष्टिको आवाज सुन्ने ? यही द्वन्द्वले एमालेको चुनावी अभियानलाई चुनौती थपेको छ।

बहुपक्षीय प्रतिस्पर्धा, चर्किँदै राजनीतिक तापक्रम
ललितपुर निर्वाचन क्षेत्र नं. २ मा यसअघि नै प्रतिस्पर्धा कडा मानिँदै आएको छ। नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेपाल कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल चुनावी मैदानमा छन्। अब एमालेभित्रै बागी उम्मेदवार थपिएपछि यो क्षेत्रको चुनावी समीकरण झनै रोचक र अनिश्चित बन्दै गएको छ।

असन्तोषको संकेत मात्र कि ठूलो राजनीतिक सन्देश ?
बज्राचार्यको बागी उम्मेदवारी केवल एक व्यक्तिको असन्तोष मात्र होइन, पार्टीभित्र दबिएका आवाजहरूको प्रतिनिधि हो कि भन्ने प्रश्न उठ्न थालेको छ। ललितपुर–२ को चुनाव अब जित–हारको मात्र होइन, दलभित्रको लोकतन्त्र, नेतृत्वको जवाफदेहिता र जनप्रतिनिधिको भूमिकामाथि पनि प्रश्न ठडिएको छ।

चुनाव नतिजाले मात्र होइन, यो बागी उम्मेदवारीले एमालेको भित्री राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नको उत्तर आगामी फागुन २१ गतेको निर्वाचमा ललितपुर–२ ले दिनेछ।

images
प्रकाशित मिति :माघ १४, २०८२ बुधवार - ०९:०३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology