ललितपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । यस क्षेत्रमा ठूला राजनीतिक दलका प्रभावशाली नेतादेखि लिएर १२ जना स्वतन्त्र उम्मेदवारसम्म चुनावी मैदानमा उत्रिँदा प्रतिस्पर्धा बहुआयामिक बनेको छ ।
नेपाली कांग्रेसले निवर्तमान प्रतिनिधिसभा सदस्य उदयशमशेर राणालाई पुनः उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा विजयी राणा यसपटक पनि कांग्रेसको उम्मेदवारका रूपमा दोहोरिएका हुन् ।

राणाको चुनावी पृष्ठभूमि
राणा ०६४ सालदेखि निरन्तर चुनावी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । ०६४ सालको संविधानसभा निर्वाचनमा उनले तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वर्षमान पुनसँग पराजय भोगेका थिए ।
०७० सालको निर्वाचनमा भने उनले नेकपा (एमाले) का मधुसूदन पौडेललाई पराजित गर्दै जित निकालेका थिए ।
०७४ सालमा एमालेका नवराज सिलवालसँग पराजित भएका राणाले ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पुनः सिलवाललाई हराउँदै विजयी भएका थिए । सो निर्वाचनमा राणाले २३ हजार ८९२ मत प्राप्त गरेका थिए भने सिलवालले १९ हजार २७८ मत ल्याएका थिए ।
एमालेबाट सञ्जेल उम्मेदवार
नेकपा (एमाले)ले यसपटक चेतनाथ सञ्जेललाई उम्मेदवार बनाएको छ । सञ्जेल ०७४ सालको प्रदेशसभा निर्वाचनमा ललितपुर–१ (ख) बाट निर्वाचित भइसकेका नेता हुन् ।
०७४ सालमा राणालाई पराजित गरेका नवराज सिलवाल भने यसपटक उम्मेदवार नबनी पार्टीका उम्मेदवार सञ्जेलको पक्षमा सक्रिय देखिएका छन् ।
अन्य दलका उम्मेदवार
अन्य राजनीतिक दलहरूले पनि ललितपुर–१ मा आफ्ना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतारेका छन् । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) बाट सुनील महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बुद्धरत्न महर्जन, पिपुल फस्र्ट पार्टीबाट सनोज महत र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सजिना कार्की उम्मेदवार बनेका छन् ।
यसैगरी जनता समाजवादी पार्टीबाट महावीर स्याङ्तान तामाङ, नेपाल मजदुर किसान पार्टी (नेककिपा) बाट सरिता गोसाई देसार, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रोहितकुमार बाँस्तोला, मंगोल नेसनल अर्गनाइजेसनबाट सुरेश मार्पा उम्मेदवार रहेका छन् ।
यस्तै, नेकपा (संयुक्त) बाट अमृतनाथ बजगाईं, नेसनल रिपब्लिक नेपालबाट सञ्जय घिसिङ तामाङ, श्रम संस्कृति पार्टीबाट गौतम थापा, नेकपा (माओवादी) बाट भीमसेन घिमिरे, उज्यालो नेपाल पार्टीबाट पदमकुमार लामा तथा आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट किरण महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।
१२ जना स्वतन्त्र उम्मेदवार
ललितपुर–१ मा यसपटक स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि उल्लेख्य देखिएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा अशोक थापा, गणेशबहादुर बल तामाङ, डालनाथ तिमल्सिना, तिलकबहादुर भोलन, देवेन्द्र सिंह, धर्मराज बोहोरा, भरत दुलाल, राधाकृष्ण बस्नेत, राम खड्का, विशाल तामाङ, सरोजकुमार विष्ट र शर्मिला बुढाथोकी चुनावी मैदानमा उत्रिएका छन् ।
दुई महिला उम्मेदवार
जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार ललितपुर–१ मा कुल २८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये दुई जना महिला रहेका छन् भने १२ जना स्वतन्त्र उम्मेदवार छन् । ठूला दलबीचको मुख्य प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवारले मत विभाजनमा कति प्रभाव पार्नेछन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ । ललितपुर–१ को निर्वाचनलाई यसपटक राजनीतिक दलहरूको शक्ति परीक्षणका रूपमा हेरिएको छ ।
निर्वाचन आउन ३३ दिन बाँकी, उम्मेदवार छलफल र रणनीतिमै सीमित
प्रतिनिधिसभा निर्वाचन आउन अब ३३ दिन मात्रै बाँकी रहँदा ललितपुरका निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचार–प्रसार भने अपेक्षाकृत सुस्त देखिएको छ । गत माघ ६ गते उम्मेदवारी दर्ता गराएका मुख्य दलका नेताहरूले प्रारम्भिक चरणमा आन्तरिक छलफल र रणनीति निर्माणमै धेरै समय बिताएका छन् ।
हाल केही उम्मेदवार घरदैलो अभियानतर्फ उन्मुख भएका छन् भने केही नेताहरू अझै एजेण्डा तय गर्ने र प्रचार रणनीति बनाउन व्यस्त देखिन्छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा पनि प्रचार अभियान आक्रामक बन्न नसकेको स्थानीयस्तरमा चर्चा छ ।
कांग्रेस उम्मेदवार राणा उपकेन्द्र उद्घाटनमा व्यस्त
ललितपुर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टीका सहमहामन्त्री उदयशमशेर राणा प्रचार उपकेन्द्र विस्तारमा व्यस्त देखिएका छन् । मंगलबार गोदावरीमा प्रचार उपकेन्द्र उद्घाटन गरेका राणाले कोन्ज्योसोम, महाँकाल र बागमती गाउँपालिकाका विभिन्न स्थानमा उपकेन्द्र स्थापना गर्दै कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र बनाइरहेका छन् ।
एमाले उम्मेदवार सञ्जेल छलफलमा सक्रिय
ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेल निरन्तर छलफल र भेला कार्यक्रमहरूमा सक्रिय देखिएका छन् । चापागाउँस्थित विभिन्न पार्टी प्यालेसमा उनले पार्टीका सक्रिय कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भेला गराउँदै चुनावी रणनीतिबारे छलफल गरिरहेका छन् । सञ्जेलले निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कार्यकर्तासँग सुझाव संकलन गरिरहेको एमाले स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा देखिएको गतिविधिअनुसार उनका समर्थक र कार्यकर्ताहरू प्रचारमा आक्रामक ढंगले अघि बढिरहेको देखिन्छ ।
नेकपा उम्मेदवार महर्जनले गतिविधि बढाउदै
ललितपुर–१ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुनील महर्जनले पनि पछिल्लो समय आफ्ना गतिविधि बढाएका छन् । शुक्रबार मात्रै उनले पूर्व अर्थमन्त्री तथा नेकपाका नेता वर्षमान पुनको प्रमुख आतिथ्यतामा चापागाउँमा निर्वाचन परिचालन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए । महर्जनले विभिन्न स्थानमा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
रास्वपाका खरेल दक्षिण ललितपुरमा सक्रिय
ललितपुर–२ बाट उम्मेदवारीसमेत दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेल ललितपुर–१ का पार्टी उम्मेदवार बुद्धरत्न महर्जनलाई सहयोग गर्न दक्षिण ललितपुर पुगेका थिए । खरेलले कोन्ज्योसोम र महाँकाल गाउँपालिकाको भ्रमण पूरा गरी भर्खरै फर्किएको जनाइएको छ ।
पिपुल फस्र्ट पार्टीका एजेण्डा सार्वजनिक
पिपुल फस्र्ट पार्टीका उम्मेदवार सनोज महतले विभिन्न छलफल कार्यक्रममार्फत आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरिरहेका छन् । दक्षिण ललितपुरको आर्थिक विकासका विषयमा विज्ञहरूसँग टेलिभिजन बहस कार्यक्रम सञ्चालन गरेको जनाउँदै उनले यसबाट आफ्नो पक्षमा सकारात्मक सन्देश गएको बताएका छन् । महतले मंगलबार लेलेमा भेटघाट कार्यक्रमसमेत गरेका छन् ।
माओवादी उम्मेदवार आचार्यको भेटघाट अभियान
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भीमसेन आचार्य पनि कार्यकर्तामाझ पुगेर भेटघाट अभियानलाई तीव्र बनाइरहेका छन् । पार्टी संगठनलाई सक्रिय बनाउँदै चुनावी तयारीमा जुटेको माओवादी केन्द्रले जनाएको छ ।
मतदातामा चासो बढ्दो
पछिल्लो समय ललितपुरका मतदाताहरू निर्वाचनको विषयमा खुलेर धारणा व्यक्त गर्न थालेका छन् । बस्तीका चोक, चिया पसल र जमघट हुने स्थानहरूमा ‘कसलाई भोट दिने ?’ भन्ने विषयमा छलफल चलिरहेको सुनिन्छ ।
आगामी निर्वाचनमा उम्मेदवारको योग्यता, विगतको काम र एजेण्डाबारे स्थानीयबासीहरू खुलेर बहस गरिरहेका छन् ।
यद्यपि, निर्वाचन नजिकिँदै जाँदा पनि प्रचार अभियानले अपेक्षित गति लिन नसकेको भन्दै मतदाताले आगामी दिनमा उम्मेदवारहरू अझ सक्रिय हुने अपेक्षा गरेका छन् ।