ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आक्रोशको सृजनाबाट जन्मिएका राजनीतिक शक्तिभन्दा देशको भविष्यप्रति जिम्मेवार दललाई मतदान गर्नु आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले राजनीतिक उद्देश्यका लागि बालबालिकालाई प्रयोग गर्ने कार्य जिम्मेवार भनिने दलहरूबाट समेत भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको जानकारी दिए। साथै, विभिन्न राजनीतिक दलबाट विपक्षी उम्मेदवारप्रति घृणा फैलाउने गतिविधि बढ्दै गएको उनले उल्लेख गरे।
उनका अनुसार नेपाली कांग्रेसले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरेको छ भने चुनावपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट नीति लिएको छ। भ्रम फैलाउने कार्यको निवारण गरिने र गैरकांग्रेसको दृष्टिकोण जनतामाझ पुर्याउन ‘डबली कार्यक्रम’ सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।
प्रवक्ता चालिसेले देशभर नेपाली कांग्रेसप्रतिको जनविश्वास बढ्दै गएको दाबी गर्दै विगतका सरकारहरूको उदाहरण प्रस्तुत गरे। उनले बीपी कोइरालाको नेतृत्वमा २०१६ सालमा बनेको सरकारले १८ महिनाभित्र महत्वपूर्ण काम गरेको र २०४८ सालमा बनेको कांग्रेस सरकारले देशको आर्थिक जग बसालेको उल्लेख गरे। त्यसपछि कांग्रेसले चाहेअनुसार परिणाम निकाल्ने गरी सरकार बन्न नसक्दा २०५१ सालदेखि देश गृहयुद्धमा फसेको र त्यसबाट समस्या उत्पन्न भएको उनको भनाइ थियो। अबको निर्वाचनबाट राजनीतिक स्थायित्व कायम हुनुपर्नेमा उनले जोड दिए।
उनले कुनै पनि निर्णय गर्नु अघि गम्भीर रूपमा सोचेर महत्त्वपूर्ण निर्णय लिन आवश्यक रहेको बताए। जनताको निराशालाई माध्यम बनाएर राजनीति गर्ने प्रवृत्तिप्रति चेतावनी दिँदै उनले जनताको निराशाबाट जर्मनीमा हिटलर जन्मिएको उदाहरण प्रस्तुत गरे। जनताको निराशाको दुरुपयोग हुँदा खराब तत्व र अधिनायकवादी नेतृत्व स्थापित हुने, नागरिक स्वतन्त्रता कुण्ठित हुने खतरा रहने उनले बताए। अधिनायकवाद बाजा बजाएर नआउने भन्दै देश कसको हातमा सुरक्षित हुन्छ भन्ने कुरा नागरिकले बुझ्नुपर्ने उनको भनाइ थियो।
प्रवक्ता चालिसेले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर उम्मेदवार बन्नु मानवअधिकारको दृष्टिले उचित भए पनि नैतिकताको हिसाबले उपयुक्त नभएको धारणा समेत व्यक्त गरे।