Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मतदातासँग हातेमालो गर्दै राजकाजी महर्जन, घरदैलो अभियान तीव्र

मतदातासँग हातेमालो गर्दै राजकाजी महर्जन, घरदैलो अभियान तीव्र

दैनिकी न्यूज

१६, फाल्गुण २०८२
मतदातासँग हातेमालो गर्दै राजकाजी महर्जन, घरदैलो अभियान तीव्र
images

ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेसँगै दलहरू प्रचार–प्रसारमा सक्रिय बनेका हुन् । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त देखिएका छन् ।

photo raj kaji.jpeg
ललितपुर क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार राजकाजी महर्जन यतिबेला घरदैलो अभियानमा जुटेका छन् । शनिबार उनले गोदावरी नगरपालिका वडा नं. १२ का स्थानीयबासीसँग भेटघाट गर्दै आफ्ना एजेन्डा र विकास योजनाबारे जानकारी गराए । यसअघि उनी ललितपुर महानगरपालिकाका विभिन्न वडाहरू र गोदावरी नगरपालिका वडा नं. १४ मा पनि पुगिसकेका छन् । घरदैलोमार्फत मतदातासँग हातेमालो गर्दै उनले समर्थन जुटाउने प्रयासलाई तीव्र बनाएका छन् ।

raji 4.jpeg

यस्ता छन् महर्जनको प्रतिबद्धताहरू

कला, संस्कृति र सम्पदाको संरक्षण
महर्जनले आफ्नो क्षेत्रको मौलिक पहिचान जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राचीन बस्तीमा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धनलाई प्राथमिकतामा राख्ने उनको योजना छ । विश्वकै लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रादेखि रुद्रायणी देवी नाच, हरिसिद्धि भवानी नाच र ठेचो नवदुर्गा भवानी नाचजस्ता परम्परागत जात्रालाई राज्यस्तरबाट व्यवस्थित गर्न पहल गर्ने उनले बताएका छन् । समुदायमा क्रियाशील गुठी, दाफा, खलः र पुचःजस्ता सांस्कृतिक संरचनाको प्रवद्र्धनसँगै सबै समुदायका धार्मिक चाडपर्वको संरक्षणमा समेत जोड दिने उनको अठोट छ ।

पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्र
कार्यविनायक, सिकाली चौर, बालकुमारी चौर र स्वेत बाराहीजस्ता पर्यटकीय क्षेत्रको विकासमार्फत स्थानीय अर्थतन्त्र मजबुत बनाउने महर्जनको लक्ष्य छ । सम्पदा क्षेत्रका बस्तीमा होमस्टे प्रभावकारी रूपमा सञ्चालन गरी रोजगारी सिर्जना गर्ने र धापाखेलको नागदहलाई राष्ट्रिय गौरवको कार्यक्रममा समावेश गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

सडक, यातायात र पूर्वाधार विकास
पूर्वाधार विकासलाई उनले समृद्धिको आधार मानेका छन् । कान्ति लोकपथको मापदण्ड कायम राख्न पहल गर्ने, खोकना–बुङ्मती क्षेत्रबाट सञ्चालन भएका राष्ट्रिय योजनाबाट प्रभावित समुदायको समस्या न्यायोचित ढङ्गले समाधान गर्ने उनको योजना छ । सातदोबाटो र कुपण्डोलमा फ्लाइओभर निर्माण, सडक स्तरोन्नति, सार्वजनिक यातायातको विस्तार तथा बागमती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

कृषि आधुनिकीकरण र आत्मनिर्भरता
व्यवस्थित कृषि बजार र बीउबिजन केन्द्र स्थापना गर्दै आधुनिक तथा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने उनको सोच छ । कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने र प्राविधिक तालिममार्फत उत्पादन वृद्धि गर्ने योजनासमेत उनले अघि सारेका छन् ।

खानेपानी र सिंचाइको दिगो व्यवस्थापन
खानेपानीको दिगो व्यवस्थापन र परम्परागत सिंचाइ प्रणाली राजकुलो तथा खोकना कुलोलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । स्थानीय मुहानको संरक्षण गर्दै गाउँदेखि शहरसम्म पानीको पहुँच विस्तार गर्ने योजना उनले अघि सारेका छन् ।

युवा, खेलकुद र रोजगारी
युवालाई सीपमूलक तालिम, व्यावसायिक कर्जा र स्वरोजगार कार्यक्रममार्फत सशक्त बनाउने महर्जनको लक्ष्य छ । बहुउद्देश्यीय खेलकुद भवन निर्माण, युवा क्लब सुदृढीकरण र विदेशबाट फर्किएका युवाको ज्ञान–सीप उपयोग गर्ने वातावरण सिर्जना गर्ने उनले बताएका छन् ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकको सम्मान
महिला समूहलाई व्यावसायिक रूपमा अघि बढाउने, बालमैत्री समुदाय निर्माण गर्ने र ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षण तथा दिवा सेवा केन्द्र सञ्चालन गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।

शिक्षा र स्वास्थ्यमा गुणस्तर
सामुदायिक विद्यालयलाई सुविधा सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, शिक्षक क्षमता अभिवृद्धि गर्ने र प्राविधिक शिक्षामा जोड दिने उनको प्रतिबद्धता छ । सरकारी अस्पतालको स्तरोन्नति, स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन र आधारभूत स्वास्थ्य केन्द्र सुदृढीकरणमा उनले प्राथमिकता दिएका छन् ।

वातावरण संरक्षण र हरियाली अभियान
सफा नदी अभियान, ढल व्यवस्थापन, कोरिडोर क्षेत्रमा हरियाली पार्क निर्माण, वृक्षारोपण तथा प्राकृतिक प्रकोप न्यूनीकरणका पूर्वतयारी कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन् ।

सुशासन र नीतिगत सुधार
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने उनले प्रतिबद्धता जनाएका छन् । सहकारी पीडितको समस्या समाधान, शेयर बजारमा पारदर्शिता, गोरखा भर्ती सम्झौता पुनरावलोकन तथा समुदायमा देखिएका विभेद अन्त्य गर्न पहल गर्ने उनले बताएका छन् ।

घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका महर्जनले यी प्रतिबद्धतामार्फत विकास, संरक्षण र सुशासनको सन्देश दिइरहेका छन् । निर्वाचन क्षेत्रका १ लाख २ हजार ४३७ मतदातामाझ उनले आफ्नो योजना र दृष्टिकोण प्रस्तुत गर्दै समर्थनको अपिल गरिरहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०८२ शनिवार - १४:३१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology