Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र चामल बरामद, आचारसंहितामाथि प्रश्न

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र चामल बरामद, आचारसंहितामाथि प्रश्न

दैनिकी न्यूज

१८, फाल्गुण २०८२
सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र चामल बरामद, आचारसंहितामाथि प्रश्न
images

सल्यान । सल्यानमा चुनावी माहोल तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचारप्रसारमा प्रयोग गरिएको गाडीबाट मदिरा र खाद्यान्न सामग्री बरामद भएपछि विवाद चुलिएको छ।

बनगाड–कुपिण्डे नगरपालिका–स्थित सल्लिबजारमा सोमबार बिहान करिब ८ बजे खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको हो। गाडीमा ७ कार्टुन रक्सी, २ कार्टुन बियर, २ बोरा चामल र ३ कार्टुन खाने तेल फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।

dainikeenews advertise.jpg

प्रचारका लागि प्रयोग भइरहेको उक्त गाडीमा पार्टीको झण्डा, ब्यानर र साउण्ड सिस्टमसमेत जडान गरिएको थियो। मतदान मिति नजिकिँदै गर्दा प्रचार गाडीमै मदिरा र खाद्यान्न सामग्री फेला परेपछि स्थानीयवासीले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आरोप लगाउँदै विरोध जनाएका छन्। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

जीप चालक नन्द रानाले भने उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारीको ढुवानीका लागि लोड गरिएको दाबी गरेका छन्। सामग्री कृतिबहादुर रानाको भएको बताइएको छ। रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचार गाडीमा यस्तो सामग्री भेटिनु चालकको कमजोरी भएको स्वीकार गर्दै पार्टीलाई यसबारे जानकारी नभएको दाबी गरेका छन्। उनले अन्जानवश भएको त्रुटि भएको उल्लेख गरे पनि केही स्थानीयले भने नियतवश नै सामग्री राखिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

हाल गाडी र सामग्री प्रहरी नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। चुनावी प्रतिस्पर्धा उत्कर्षमा पुगिरहेका बेला यस्तो घटनाले मतदातामाझ विभिन्न प्रश्न उठाएको छ—के यो सामान्य ढुवानी थियो, कि आचारसंहितामाथि गम्भीर उल्लङ्घन ? अनुसन्धानले नै अब यसको स्पष्टता दिनेछ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - १३:२३:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology