काठमाडौं । देशभर अहिले जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भागमा आंशिक बदली हुने सम्भावना छ।
त्यसैगरी कोशी प्रदेश का साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का तराई क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा तथा हिमपातको सम्भावना भएका क्षेत्रका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्दै विशेषगरी ती भेगमा यात्रा गर्ने तथा यातायात सञ्चालन गर्ने व्यक्तिहरूलाई सतर्क रहन अनुरोध गरेको छ।