Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गोदावरी वडा नं. ३ बालमैत्री वडा घोषित

गोदावरी वडा नं. ३ बालमैत्री वडा घोषित

दैनिकी न्यूज

६, चैत्र २०८२
गोदावरी वडा नं. ३ बालमैत्री वडा घोषित
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ बालमैत्री वडा घोषणा भएको छ। “सम्मानित बालापन (सुनिश्चित बालअधिकार, बालमैत्री तथा समुन्नत गोदावरीको आधार)” भन्ने नाराका साथ बिहीबार आयोजित कार्यक्रममा वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गरिएको हो। यससँगै गोदावरी नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी अगाडि बढाइएको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले जानकारी दिए।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख फुँयालले उक्त घोषणाले नयाँ सभ्यताको सुरुवात भएको उल्लेख गरे। उनले संविधान २०७२ ले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयनमा गोदावरी नगरपालिकाले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। अधिकारहरू संविधानमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको उनले जोड दिए। बालमैत्री वडा घोषणाका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले दुई वर्षदेखि निरन्तर गरिएको प्रयासको प्रशंसा गरे।

उनले वडाभित्रका सबै नागरिकलाई जानकारी दिन भव्य रूपमा घोषणा गरिएको उल्लेख गर्दै गोदावरीलाई थप सुन्दर र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए।

education Lalitpur.jpg

नगरप्रमुख गजेन्द्र महर्जनले नगरभित्र सबै नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्दै विकास निर्माणका गतिविधि अघि बढाइने बताए। उनका अनुसार नगरका बाँकी दुई वडा पनि यही महिनाभित्र बालमैत्री वडा घोषणा हुनेछन्। आगामी महिनामा सम्पूर्ण नगरपालिकालाई नै बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी रहेको उनले जानकारी दिए। बालश्रम र बालविवाहमुक्त स्थानीय तह सुनिश्चित गर्न अनुगमनलाई तीव्रता दिइने उनको प्रतिबद्धता थियो।

महर्जनले बालबालिकालाई सामाजिक सञ्जालमा फैलिने गलत सूचनाबाट सचेत रहन आग्रह गर्दै सचेत नागरिक निर्माणका लागि आधार तहदेखि नै ध्यान दिनुपर्ने बताए। गोदावरी पर्यटकीय क्षेत्र भएकाले पर्यटन विकासका लागि वडास्तरबाट भइरहेका प्रयासमा नगरपालिकाले सहयोग गर्ने पनि उनले जनाए।

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले नेपालले विश्व बालअधिकार अभिसन्धिमा हस्ताक्षर गरी संविधानमा समेत समावेश गरेको बताए। सोही आधारमा बालमैत्री स्थानीय शासनको अवधारणा अघि बढाइएको र निर्धारित सबै सूचक पूरा गरेपछि वडा घोषणा गरिएको उनले स्पष्ट पारे। बालसंरक्षण, बालविकास र बालप्रतिभा प्रस्फुटनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।

उपप्रमुख मुना अधिकारीले बालबालिकालाई आफ्ना हकहितका साथै स्थानीय विकास निर्माणमा जनप्रतिनिधिलाई खबरदारी गर्न आग्रह गरिन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोग र सचेतनाको कमीले अभिभावक र बालबालिकाबीचको सम्बन्ध कमजोर हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।

बागलुङको बडीगार्ड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले गोदावरी नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउँदै बालमैत्री स्थानीय शासनतर्फ महत्वपूर्ण प्रगति गरेको भन्दै खुसी व्यक्त गरे। उनले यस उपलब्धिलाई दिगो बनाउन ध्यान दिन आग्रह गरे।

किटानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बालबालिकालाई उचित वातावरण र अवसर उपलब्ध गराउनु अभिभावकदेखि समुदायसम्म सबैको दायित्व भएको बताए। बालमैत्री व्यवहार र शासनलाई व्यवहारमा उतार्न सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे।

वडा नं. ३ का अध्यक्ष सानुराज घिमिरेले बालमैत्री वडा घोषणापछि यसको दिगोपनमा विशेष ध्यान दिइने बताए। उनले विद्यार्थी र विद्यालयलाई प्राथमिकतामा राखेर प्रेरित र उत्प्रेरित गर्ने प्रतिबद्धता जनाए।

महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा सहकार्यबाट समुदायमा विश्वास कायम गर्दै विभिन्न अल्पकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्।

गोदावरी बाल सञ्जालका अध्यक्ष स्माइल राईले परिवर्तन आफ्नै सोच र व्यवहारबाट सुरु हुने उल्लेख गर्दै वडा नं. ३ ले ५१ वटा सूचक पूरा गरी बालमैत्री वडा घोषणा हुन सफल भएको बताए।

images
प्रकाशित मिति :चैत्र ६, २०८२ शुक्रवार - ०७:३३:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology